रामेछाप । दोश्रो विश्वयुद्धमा तत्कालिन ईष्टईण्डिया कम्पनीको ( जुन बेलायत सरकारको कम्पनी थियो ) तर्फबाट मलाया ( हालको मलेसियामा ) पुगेर युद्ध लडेका रामेछाप नगरपालिका ६ डान्सिङटारका १ सय ८ बर्षिय मानवहादुर आलेमगर ( धनवहादुर ) को अहिले साँझ ७ बजे आफ्नै निवासमा निधन भएको छ । उनी विगत २ बर्ष देखि विभिन्न रोगबाट ग्रसित थिए । उनको अन्तिम संस्कार बुधबार विहान सुनकोशी किनारको धनेघाटमा गरिने जनाइएको छ । सम्भवत ः उनी रामेछाप सबैभन्दा बढी उमेरका व्यक्ति थिए ।

बेलायत सरकारको तर्फबाट मलाया लडाई सकेर भारत फर्किएपछि विरता पदक बाट सम्मानित आले मगर त्यस लगत्तै नेपाल आएका थिए । नेपाल आएपछि फेरी भारतमा रहेको उक्त कम्पनीमा सम्पर्क गर्न गएनन् ।

२००७ सालमा नेपाली काँग्रेसले राणा शासन विरुद्ध आव्हान गरेको शसस्त्र क्रान्तिमा आलेमगर सहभागि भएका थिए । उनी त्यसपछि अर्को क्रान्तिमा सहभागि भएको परिवारलाई जानकारी छैन् ।

स्वर्गीय आलेमगरका ५ छोरा र ३ छोरी भएकोमा जेठा छोराको २० बर्ष अघीनै निधन भएको थियो । उनकी श्रीमतिको दुई बर्ष अघी झण्डै १ सय बर्षको उमेरमा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

दोश्रो विश्वयुद्धमा विरतापूर्वक लडाई लडेका आलेमगर दुई बर्ष अघी विरामी परेको जानकारी पाएपछि बेलायत सरकारको सहयोगमा संचालित संस्था गोर्खा वयलफेयर सेन्टर (जीडब्लुएस) ले उनको घरमै आएर उपचार गरेको थियो । चिकित्सक सहित आएको टोलीले आलेमगरको रोग परिक्षण, उपचार तथा आवश्यक औषधि, फर्निचर र अत्यावश्यक सामाग्री हस्तान्तरण गरेको थियो ।

परिवारका अनुसार उक्त संस्थाले हरेक ३ महिनामा प्रतिनिधि पठाएर आवश्यक औषधि र सामाग्रीहरु सहयोग गर्दै आएको थियो । २०७२ सालमा आएको विनासकारी भूकम्पले आलेमगरको घर भत्केको जानकारी पाएपछि गोर्खा वयलफेयर सेन्टरले उनका लागि २ कोठे घर समेत निर्माण गरिदिएको थियो । त्यसपछि वृद्ध आलेमगर त्यहि घरमा वसोवास गर्दै आएका थिए ।