रामेछाप । रामेछाप नगरपालिका ५ रामपुरका किसान कालु तामाङको बारीमा ४० केजि तौलको फर्सी फलेको छ । ‘अरुको बारीमा पनि ठुलै फल्छन् तर यति धेरै तौल भएको यो नै रामपुरमा फलेको ठुलो फर्सी हो’ स्थानीय विरवहादुर तामाङ भन्छन् – त्यो फर्सी त थोरै तागत भएकाले उठाउनै सक्दैन् ।
स्थानीयले घ्याम्पे फर्सी नाम दिएको उक्त फर्सी कालु तामाङले ४ सय रुपैयाँमा शनिबार बिक्री गरेका छन् । लोभलाग्दो र गाउँभरीकै ठुलो फर्सीको मोल भने ज्यादै थोरै आएको छ । फर्सी खोज्दै बारीमै पुग्ने व्यवसायीले प्रति केजि १० रुर्पैया भन्दा धेरै मोल दिदैनन् । ‘बारी भरि फर्सी फलाउने किसानहरु मर्कामा छन्’ स्थानीय रामदाश वाईवाले भने – यो बर्ष यस्तै भयो, अर्को बर्ष १५ रुपैयाँ सम्म दिउँला भनेर व्यवसायीले भनेका छन् , हामी त्यसैमा भर परेका छौं ।
सुनकोशी तिर फर्केको ओख्रेनी र रामपुरको दक्षिणी पाखोमा अत्याधिक फर्सी फल्न थालेको छ । ‘चार बर्ष भयो, अचाक्ली फसी फलेको ’ वाईवा भन्छन् – तल वेशी तिर हुदैन, डाडाँ तिर उल्का फल्छ । उनका अनुसार एक जना किसानले फर्सी बेचेर बार्षिक १२ हजार सम्म कमाएका छन् । त्यो मूल्य भनेको १ हजार २ सय केजिको हो । आफुलाई तरकारी, बंगुर लाई दाना अनि पाहुनालाई कोशेली दिएर पनि त्यति पैसा आउदा चाडबाडलाई खर्च पुगेको उनले वताए ।
किसानले उत्पादन गरेका कृषि उपज किन्न रामपुर र ओख्रेनी पुग्ने ३ वटा समूहका व्यापारीहरुले किसानहरुबाट धमाधम फर्सी उठाईरहेका छन् । अलि काँचैमा ( हरियै ) विक्री गरे बढी तौल हुने भन्दै किसानले हरियै फर्सी भेट्नुबाट चुँडेर व्यवसायीको तराजुमा हाल्न थालेका छन् । दिनहुँ फर्सी बोकेका गाडी अहिले रामपुर र ओख्रेनीबाट बाहिरीन थालेको वाईवाले वताए । हरेक दिन बलेरो र मिनी ट्रक फर्सी लिनका लागि रामपुर र ओख्रेनी भित्रीरहेका छन् ।
रामपुरको बसन्तपुर, चारघरे, डाडाँगाउँ, ओख्रेनीको स्यास्कु, होदिल, साउने, खानीडाडाँ क्षेत्रमा धेरै फर्सी फल्ने गर्छ । व्यवसायीहरुले फर्सी सगैं स्कुश प्रति केजि १० रुपैयाँ र अकबरे खोर्सानी प्रतिकेजि १ सय ५० मा उठाउने गर्छन् । उक्त कृषि उपज हरु तराईको बजारमा पुग्ने गरेको वताइएको छ ।
