रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक भोला कुमार भट्टले पूर्ण शान्ति पुरस्कार प्राप्त गरेका छन् । अपराध अनुसन्धानमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकारीलाई उक्त पुरस्कार प्रदान गर्ने गरिन्छ ।
प्रहरी दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा गृह मन्त्री ओमप्रकाश अर्यालले उक्त पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए । ७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रनाउ भट्ट नेपाल प्रहरीको सवैभन्दा उत्कृष्ट पुरस्कारबाट सम्मानित भएका हुन् । कार्यक्रममा प्रहरी महानिरीक्षक लगाएतका उच्च प्रहरी अधिकारीहरुको सहभागिता रहेको थियो ।
केहि महिना अघी रामेछाप जिल्ला प्रहरी कार्यालयको प्रमुखको रुपमा कार्यारम्भ गरेका भट्टले अपराध अनुसन्धानकर्ता, शान्ति सुरक्षा तथा अमनचयनमा दक्षता र कुशल संगठकको रुपमा पहिचान बनाएका छन् । उनी रामेछाप आउनु अघी उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंमा कार्यरत थिए ।
सोहि कार्यक्रममा अन्य दुई प्रहरी अधिकारी पनि पुरस्कृत र सम्मानीत भएका थिए ।
