रामेछाप । जिल्लाको पूर्वि दक्षिणी कुनामा पर्ने कोलञ्जोरको माझी गाउँमा रहेको विद्यालयमा पहिरोले क्षति गरेको छ । दुई दिन अघी झरेको पहिरोले विद्यालय पुरै नष्ट पारेको वडा अध्यक्ष हरिश्चन्द्र श्रेष्ठले जनाएका छन् ।

विदाको समय भएकाले विद्यार्थी तथा शिक्षकहरुलाई केहि असर नगरे पनि विद्यालय भवन र उक्त भवनमा रहेका फर्निचर, कम्प्युटर र शैक्षिक सामाग्री नष्ट भएका छन् । विद्यालय भवन कामै नलाग्ने गरि पहिरोले पुरिएको छ ।

रामेछाप नगरपालिका ५ मा पर्ने सिवालय आधारभुत विद्यालयमा कक्षा एलसिडि देखि कक्षा ५ सम्म अध्ययन अध्यापन हुने गरेको थियो । विद्यालयमा करिव ४० जना विद्यार्थी रहेका छन् ।

प्रअ भीमवहादुर माझीका अनुसार गरिव माझी समुदायको वसोवास रहेको उक्त स्थानमा अविभावक र विद्यालयको श्रोतबाट विद्यालयको पुननिर्माण गरी पठनपाठन गर्ने संभावना छैन् । अविभावक न्यून आय भएका छन् , विद्यालयको श्रोत केहि छैन, प्रअ माझी भन्छन् – कतैबाट तत्काल सहयोग भएन भने पठन पाठननै प्रभावित हुने भएको छ ।

विद्यालय चाडबाढको विदा सकिदा सम्म तयार पारिसक्नु पर्ने चटारो आईपरेकोले माझीको नेतृत्वमा बिहिबार रामेछाप नगरपालिकामा पुगेर शिक्षक र अविभावकले विद्यालयमा पहिरोले गरेको क्षतिका बारेमा जानकारी गराएका छन् । तत्कालका लागि बैकल्पिक स्थानमा टिएलसी निर्माण गरी पठन पाठन संचालन गर्ने मनसायमा प्रअ माझी पुगेका र सोहि बमोजिमको व्यवस्थापनमा सहयोग गर्न नगर प्रमुख लबश्री न्यौपाने संग माग गरेका छन् । नगर प्रमुख न्यौपानेले शुक्रबार नगर कार्यपालिकाको बैठकमा उक्त समस्याका बारेमा छलफल र निर्णय गर्ने आश्वासन दिएका छन् ।

प्रअ माझीका अनुसार पहिले विद्यालय नजिक कुनै पहिरो थिएन । केहि बर्ष अघी सडक निर्माण भएपछि अलिअलि पहिरो झर्न थालेको हो । यो पटक भने झण्डै १५ मिटर माझीबाट खसेको पहिरो ठुलो क्षति पुगेको छ । बेला बेलामा सुख्खा पहिरो खसिरहने भएकाले विद्यालय भवन बनाएर मात्र नहुने भन्दै प्रअ माझीले पहिरो नियन्त्रणको पनि आवश्यकता औल्याएका छन् ।

विद्यालय पुननिर्माणका लागि अर्को स्थानमा जग्गा नभएको त्यहि पुननिर्माण गर्नुपर्ने बाध्यता रहेकोले पहिले पहिरो नियन्त्रण गर्नुपर्ने अवस्था रहेको माझीले वताएका छन् ।