रामेछाप । रामेछापमा विमानस्थलबाट काठमाडौंका लागि उडान नहुदा जिल्लाबासीले सुविधा नपाएको बेला स्थानीय युवाहरुले ३ दिन भीत्र काठमाडौ–रामेछाप–काठमाडौं हवाई सेवा संचालनको माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष माग पत्र प्रश्तुत गरेका छन् । मंगलबार मन्थलीको शान्तिदीप युवा क्लबका युवाहरुको एक समूहले प्रजिअ श्यामकृष्ण थापालाई उक्त पत्र हस्तान्तरण गरेका हुन् ।

क्लबका अध्यक्ष सुरेश उदाशले बाढी पहिरो जस्ता विपदका कारण सडक मार्ग असहज भएका बेलामा बृद्धबृद्धा, असक्त, विरामी लगाएतलाई काठमाडौं आउजाउमा समस्या झेल्नु परेको तर जिल्लामा रहेको विमानस्थलबाट जिल्लाबासीले सेवा नपाउदा युवाहरुमा आक्रोश बढेको उल्लेख गरेका छन् । उनले ३ दिनमा विमान कम्पनीहरुले रामेछापका नागरिकहरुका लागि नियमित उडानको व्यवस्था नगरे विरोधका कार्यक्रम सार्वजनिक गर्ने जनाएका छन् । माग पत्र प्रश्तुत गर्न केहि जेनजी युवाहरु पनि जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । रामेछापमा हवाई उडान नियमित गराउनका लागि उनीहरुले सोमबार पनि रामेछाप विमानस्थलमा दवाव दिएका थिए ।

युवाहरुको माग पत्र बुझ्दै प्रजिअ थापाले रामेछाप विमास्थलबाट जिल्लाबासी नागरिकलाई सेवा दिने गरी उडानको व्यवस्था गर्न स्थानीय प्रशासनले समेत पहल गर्दै आएको वताउदै युवाहरुको मागका सम्बन्धमा माथिल्लो निकायमा अवगत गराउने उल्लेख गरे । उनले जिल्लाबासीलाई नियमित हवाई सेवाको खाँचो रहेको औंल्याउदै युवाहरुको मागका सम्बन्धमा सम्बन्धित निकायले बेलामानै निर्णय लिनु पर्नेमा जोड दिए ।

रामेछाप विमानस्थलबाट विगत ७ बर्ष देखि लुक्लाका लागि पर्यटक ओसार्दै आएका निजी वायुसेवा कम्पनीहरुले काठमाडौं लक्षित उडान भने गरेका छैनन् । यसले रामेछापबासीले स्थानीय विमानस्थलबाट कुनै फाईदा लिन सकेका छैनन् ।

काठमाडौंबाट रामेछापका लागि यात्रु ल्याउने र रामेछापबाट काठमाडौं यात्रु लैजाने उडानको माग गर्ने रामेछापबासीको आँखामा छारो हाल्दै रामेछापबाट एक तर्फि कहिले काँहि यात्रु हालेर निजी विमान कम्पनीहरुले सेवा दिएको भन्ने गलत सन्देश प्रवाह गरेका छन् । कम्पनीकै कारण उडान गर्नै पर्ने भएको बेला मौकामा कोहि कसैलाई उडाउदैमा त्यो नियमित र भरपर्दो सेवा नहुने भन्दै जिल्लाबासीले यात्रु लक्षित उडान तालिका सार्वजनिक गरी नियमित दुईतर्फि उडानको माग गरेका हुन् ।