रामेछाप । बुधबार अपरान्ह परेको चट्याङ लागेर दोलखा देखि लामोसाँघु लगिएको विद्युत प्रशारण लाईनमा क्षति पुगेको छ । चट्याङले सिंगटी देखि लामोसाँघु जोड्ने १ सय ३२ केभि प्रशारण लाईनमा क्षति पुग्दा निजी क्षेत्रबाट उत्पादित विद्युत केन्द्रीय प्रशारणलाईनमा पुग्न सेकेको छैन् । प्रशारण लाईन क्षति भएपछि निजी क्षेत्रको ८९ मेघावाट विद्युत खेर गइरहेको छ ।
नेपाल विद्युत प्राधिकरण खिम्ती ग्रीड शाखाका अनुसार उक्त प्रशारणलाईनको एक फेज संचालन गरी दोलखाको सिंगटी, सुरीखोलाा, सिप्रिङखोला, घट्टेखोला र युनिभर्सल जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रशारणलाईनमा जोडिएको थियो । प्रशारण लाईनको काम पुरा गरेर विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिसकेको अवस्था भने छैन् ।
चट्याङ लागेर तार चुँडिएकोले विद्युत प्रशारण अवरुद्ध भएको जनाइएको छ । चुडिएको तार मर्मत गर्नका लागि प्राविधिकहरु परिचालन भइसकेका छन् । विहिबार बेलुका सम्म मर्मत कार्य सम्पन्न गरी विद्युत प्रशारण खुलाउनका लागि प्रयास भइरहेको वुझीएको छ ।
बुधबरा दोलखामा ठुलो हावाहुरी, चट्याङ र पानी परेको थियो । चट्याङले दोलखा जिरी खण्ड अन्तरगत नाम्दु नजिकको जंगलमा दर्जनौं रुख ढलेका र केहि समय सम्म सडक समेत अवरुद्ध भएको थियो ।
