रामेछाप । नेपाल टेलिकमबाट वितरीत फाईबर नेटमा बारम्बार समस्या आउदा दशैंको सेवा सर्वसाधारणलाई सेवा लिन कठिनाई भएको छ ।

नेपाल टेलिकम मन्थलीको ट्रान्समिटरमा विद्युतको आपूर्तिमा समस्या आउदा जिल्लामा टेलिकमले जडान गरेका सवै फाईबर नेट बारम्बार अवरुद्ध हुन थालेका छन् । सोमबार देखि उक्त समस्या देखिएपनि नेपाल टेलिकम मन्थली शाखाले समस्याको समाधान गर्न सकेको छैन् । 

केहि दिन देखि विद्युत सेवा अवरुद्ध हुने गरेको मन्थलीमा फाईबर नेट समेत सोहि कारणले बारम्बार अवरुद्ध हुन पुगेको नेपाल टेलिकम मन्थलीका प्रदीप कार्कीले वताए  । कार्कीका अनुसार विद्युत गएपछि टेलिकममा रहेको जेनेरेटर चलाएर सेवा नियमित बनाउने गरिएकोमा यो पटक जेनेरेटर बाट समेत सेवा संचालनमा ल्याउन कठिनाई भएको छ । ‘बत्ति जाने वित्तिकै अवरुद्ध हुने ईन्टरनेट सेवा वत्ति आएको २० मिनेट पछि मात्र संचालनमा आउने गरेकोले अहिले हामीले निरन्तर जेनेरेटर चलाएर भएपनि सेवा सुचारु राख्ने काम गरेका छौं ’ कार्कीले भने । 

दशैंको बेला बैंक तथा वित्तिय संस्थामा पैसा झिक्न आउने सर्वसाधारणहरु ईन्टरनेटको सेवा अवरुद्ध हुदाँ हैरानीमा परेका छन् । मन्थलीमा आईएमई संचालन गर्दै आएका प्रथमा मनि ट्रान्सफरका संचालक सुरेश उदासले मंगलबार टेलिकमले वितरण गरेको ईन्टरनेटबाट सेवा लिन नसकेपछि बैकल्पिक सेवा प्रदायक कम्पनीको ईन्टरनेट जोडेर सर्वसाधारणलाई सेवा दिएको वताए । उनले ग्राहको चाप हुने बेलामा टेलिकमको ईन्टरनेट सेवा अवरुद्ध हुदा सेवा लिने र दिनेले समस्या भोग्नु परेको वताए । 

ईन्टरनेट संचालनमा देखा परेको समस्या समाधानको लागि टेलिकमले केन्द्रबाट प्राविधिकहरु झिकाएको छ । कार्कीका अनुसार बुधबार प्राविधिकहरुको टोली आउने भएका छन् ।