रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापति पूर्णवहादुर तामाङ (कान्छाराम ) ले उपसभापति लेखवहादुर कार्कीलाई कार्यबाहक जिल्ला सभापतिको जिम्मेवारी नरहेको जनाउ दिएका छन् ।

तामाङले २०८२ असोज ५ गते देखि कार्यबाहक जिल्ला सभापतिको जिम्मेवारी नरहेको भन्ने व्यहोराको पत्र आईतबारनै कार्कीलाई पठाएका थिए । तामाङ उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पदमा नियुक्त भएपछि बारम्बार जिल्लामा आउन असमर्थ हुने जनाई जिल्लामा नआउन्जेलका लागि कार्कीलाई कार्यबाहक जिल्ला सभापतिको जिम्मेवारी दिएको भन्ने व्यहोराका पत्र दिएका थिए ।

राज्यमन्त्रीको रुपमा पटक पटक जिल्ला आउदा तामाङले आफुलाई जिल्ला सभापति र कार्कीलाई कार्यबाहक जिल्ला सभापतिको रुपमा संवोधन गर्न लगाउथे । दर्जनौं कार्यक्रममा यसै बमोजिमको मर्यादा राखेर उनीहरु सहभागि हुने गरेका थिए ।

केहि महिना अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्दा काँग्रेसको कोटामा राज्यमन्त्री बनेका तामाङलाई निष्काशन गरेका थिए । राज्यमन्त्री हटेपछि पनि जिल्लामा पटक पटक आयोजित कार्यक्रममा उनले कार्यबाहक सभापतिको हैसियतमा कार्कीलाईनै राखेका थिए ।

गएको चौधौं अधिवेशनमा एउटै समूहबाट सभापति र उपसभापतिको उमेदवार भई विजयी भएका तामाङ र कार्की विच झण्डै दुई महिना देखि खटपट भएको थियो । खटपटको विषय भने सार्वजनिक भएको छैन् ।

कार्यबाहक नरहेको पत्र पाएपछि उपसभापति कार्कीले पार्टीले दिएको पत्र आईतबारनै फेसबुकमा राखेर सभापति तामाङलाई धन्यवाद दिएका छन् । उनले लेखेका छन् ‘मलाई थाहा थियो तपाईले गर्न सक्ने यत्ति हो भनेर । यसैको पर्खाईमा थिए म पनि । धन्यबाद सभापति जि तपाई लाई’ ।