रामेछाप । गत असोजको बाढीले क्षतविच्छेद भएको पूर्वि नेपालकै लाईफलाईन मानिने बिपी राजमार्गमा बुधबार देखि चौबिसै घण्टा यातायात चालु भएको छ ।
दशै नजिकिएको बेला सरकारले उक्त राजमार्गमा २४ सै घण्टा यातायात सेवा संचालनमा ल्याएको हो । राजधानीबाट बाहिरीने यात्रु बढीरहेका बेला आएको उक्त निर्णयले सर्वसाधारणको यात्रामा सहजता ल्याएको छ । निर्णय सार्वजनिक हुना साथै राजमार्गमा रात्रीकालिन आवागमन बढ्न थालेको छ ।
गत असोजको बाढीले क्षतविच्छेद भई अस्थायी रुपमा संचालनमा ल्याइएको राजमार्गमा बर्षाको बेला कुनै अप्रिय घटना नहोस भन्ने उद्धेश्यले सरकारले सिन्धुलीको खुर्कोट र काभ्रेको काभ्रे भन्ज्याङबाट बेलुका ५ बजे पछि कुनै पनि सवारी साधन गुड्न नदिने निती अख्तियार गरेको थियो ।
जिल्ला स्थित सुरक्षा अधिकारीहरुले गर्ने उक्त निर्णय कडाईका साथ लागू भएका कारण यस बर्ष बिपी राजमार्गमा कुनै अप्रिय घटना नघटेको निष्कर्ष छ ।
रोशी खोलाको किनारमा गेगरको थुप्रो लगाएर बनाएको अस्थायी सडक रोशीमा ठुलो बाढी आएको बेला खोलिन सक्ने र सडक भन्दा माथि बाट पहिरो झर्ने जोखिम उच्च रहेकोले रात्रीकालिन यातायात संचालनमा कडाई गरिएको थियो । रोशीको बाढीले केहि दिन सडक खोलेपनि सरकारले तत्काल मर्मत गरेर बर्षायामभरी विपी राजमार्ग संचालनमा ल्याएको थियो ।
बाढीले क्षतिग्रस्त उक्त राजमार्गलाई अझ सुरक्षित र फराकिलो हुने गरी पुननिर्माण गर्न सरकारले ठेक्का लगाइसेको छ । सरकारको उच्च प्राथमिकतामा रहेको उक्त राजमार्गको एउटा खण्ड जापान सरकारले पुननिर्माण गर्दैछ भने बाँकी ३ वटा खण्डमा नेपाल सरकार आफैले पुननिर्माण गर्ने गरी ठेक्का बन्दोवस्ती गरीएको हो । पुननिर्माणका लागि संझौता भइसकेको र निर्माण स्थलमा निर्माण व्यवसायीले सामाग्रि भण्डारण र आवासका लागि क्याम्प बनाइसकेका छन् ।
