रामेछाप । रामेछाप कारागार तोडेर भाग्ने प्रयास गर्ने क्रममा घाईते भएका कैदीवन्दीलाई उपचार पछि कारागार फर्काएको छ ।
जेनजीको प्रदर्शनका क्रममा देशका अन्य कारागारमा रहेका कैदीवन्दी जेलबाट निस्केको सूचना पाएपछि भदौ २६ गते विहानै रामेछाप कारागारमा रहेका कैदीवन्दीले समेत कारागार तोडेर निस्कने प्रयास गरेका थिए । सो क्रममा सुरक्षाकर्मीले गोली चलाउदा १४ जना कैदीवन्दी घाईते भएका थिए ।
कारागार कार्यालय रामेछापका प्रमुख राजेन्द्र वस्नेतका अनुसार बाँकी सवै उपचार पछि कारागार फर्केको अवस्था छ । रामेछाप अस्पतालमा उपचार पछि ६ जनालाई कारागार फर्काइएको छ । कारागारमा फर्काएपनि उनीहरुको स्वास्थ्य उपचार जारी रहेको छ । चिकित्सकको सल्लाह बमोजिम फलोअपमा अस्पताल लाने र ल्याउने काम जारी छ । उनीहरु मध्ये केहिको घाउमा लगाइएको टाँका काट्न बाँकीनै रहेकोले कारागारमा पनि विषेश सावधानीका साथ राखिएको छ ।
वस्नेतका अनुसार उपचारका लागि धुलिखेल पठाइएका ५ जना कैदीवन्दीहरु पनि अस्पतालको उपचार पछि केन्द्रीय कारागारमा पठाइएको छ । उता उपचारका लागि पठाइएकाहरु लाई उतैको कारागारमा पठाउने व्यवस्था गरिएको वस्नेतले वताए ।
कारागारमा गोली लागेर घाईते भएका कैदीवन्दीलाई उपचारका लागि तत्कालै जिल्ला अस्पताल रामेछाप पु¥याएकोमा २ जनाको सोहि दिन मृत्यू भएको थियो । गम्भिर घाईते भएका ६ जनालाई थप उपचारका लागि धुलिखेल पठाइएकोमा उपचारका क्रममा १ जनाको मृत्यू भएको थियो ।
जेनजीको आन्दोलनको क्रममा देशका अन्य कारागारमा रहेका कैदिबन्दी माग्ने र आगलागिका घटना घटेपछि स्थानीय प्रशासनले रामेछाप कारागारमा नेपाली सेना राखेर सुरक्षा दिएको थियो । शान्त रहेको रामेछापमा कारागारका कैदीवन्दीले गरेको विद्रोहका कारण अशान्ति बढेपछि प्रशासनले केहि दिन कफ्र्यू लगाउनुका साथै निषेधाज्ञा र दंगाग्रस्त क्षेत्र जारी गरेको थियो । हाल पनि कारागारमा नेपाली सेनालेनै सुरक्षा दिइ राखेको थियो ।
