काठमाडौं । सोमबार युवाहरुको समूह जेनजीको आव्हानमा राजधानी काठमाडौंमा भएको प्रदर्शनको क्रममा १९ जना युवाहरुको ज्यान गएको र सयौं घाईते भएको घटनाको विरोधमा मंगलबार विहानै देखि देशभरी प्रदर्शन भइरहेका छन् ।

काठमाडौ, ललितपुर र भक्तपुरमा विहानै देखि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेका भएपनि युवाहरुको समूह कफ्र्यु तोडेर सडकमा प्रदर्शनमा निस्केको छ । उपत्यकाका विभिन्न स्थानमा सडकमा प्रदर्शन भइरहेका छन् । संसद भवन अघील्तिर हजारौंको संख्यामा युवाहरु प्रदर्शन गरीरहेका छन् । ठाउँ ठाउँमा टायर बालेर विरोध प्रदर्शन भइरहेका छन् ।

ललितपुर स्थित संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वि सुब्बा गुरुङको घरमा आगजनी गरिएको छ । विद्यालय, कलेज लगाएतका सवै परिक्षा स्थगीत भएका छन् । झापा, ईटहरी, भैरहवा, वुटवल, चितवन, पोखरा, जनकपुर लगाएतका स्थानमा प्रदर्शन जारी रहेको छ । रामेछापमा पनि युवाहरुले स्थानीय देवकोटा चोकमा प्रदर्शन गर्न थालेका छन् ।