रामेछाप । रामेछाप नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भएको छ । शनिबार बागमति प्रदेशका मुख्य मन्त्री ईन्द्रवहादुर बाँनियाले रामेछाप नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरेका हुन् ।

रामेछाप नगरपालिकाका अध्यक्ष लबश्री न्यौपानेले रामेछाप नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणाका निमित्त आवश्यक पर्ने पूर्वाधारको निर्माण, विभिन्न समिति र सञ्जालहरुको गठन लगाएतका सवै ५१ वटा सूचकहरुको मापदण्ड पुरा भएको वताए । उनले नगरपालिकालाई बालमैत्री असलशासनयुक्त नगरपालिका बनाउनका लागि नगरपालिकााले लामो अवधि देखि विभिन्न क्रियाकलाप गरेको स्मरण गराए । रामेछाप नगरपालिकामा १८ बर्ष मुनिका १० हजार २ सय भन्दा बढी बालबालिकाहरु रहेको तथ्याङ्क छ ।

कार्यक्रममा मुख्य मन्त्री ईन्द्रवहादुर बाँनियाले राष्ट्रिय नीति बमोजिम रामेछाप नगरपालिकाले बालबालिकाहरुको क्षेत्रमा समेत उल्लेख्य कार्य गरेको र नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाएकोमा खुसी व्यक्त गर्दै प्रदेश सरकारले रामेछाप नगरपालिकालाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता प्रकट गरे ।

पूर्व उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य पूर्णवहादुर तामाङ ( कान्छाराम ) ले ग्रामिण क्षेत्रमा रहेको रामेछाप नगरपालिकाले बालबालिकाहरुको क्षेत्रमा उल्लेख्य सुधारको कार्य गरेर बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनेकोमा प्रसन्नता प्रकट गरे । सोहि कार्यक्रममा बागमति प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बाँदेले प्रदेश सरकारले रामेछाप नगरपालिका संग शिक्षा तथा बालबालिकाहरुको क्षेत्रमा सहकार्य गर्ने आश्वासन दिए ।

बालमैत्री स्थानीयशासन नगरपालिका घोषणा कार्यक्रममा रामेछाप नगरपालिका भित्र बसोवास गर्ने विभिन्न जात जाति तथा भाषाभाषिहरुको झाँकी, गीत तथा नृत्य प्रदर्शन गरीएको थियो । कार्यक्रममा रामेछाप नगरपालिकाका उप प्रमुख बालकुमारी थापा कार्कीले आगन्तुकको स्वागत गर्दै नगरपालिकाले ऐतिहासिक बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणाका लागि सवैको सहकार्य रहेको उल्लेख गरिन ।

रामेछापको मानेडाडाँ देखि टुँडिखेल सम्म ¥याली निस्केको थियो । शिक्षक, विद्यार्थी, नेपाल स्काउट, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, विद्यालय कर्मचारी राजनीतिक दलका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

यसअघी जिल्ला सदरमुकाम रहेको मन्थली नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको थियो ।