रामेछाप । बालबालिकाहरुको अधिकार, संरक्षण, बालसहभागिता सुनिश्चित गरि मन्थली नगरपालिका रामेछापको पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा हुने भएको छ ।
बुधबार मन्थलीको तीनलाल पार्कमा आयोजित एक भव्य कार्यक्रममा मन्थली नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्न लागिएको हो । मन्थली नगरपालिकाले विगत २ बर्ष देखि नगरपालिकाका १४ वटै वडामा बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ ले तोकेका सूचकहरु बमोजिमका कार्य गर्दै आएको र तोकिएका सूचकहरु पुरा गरेपछि केहि अघी नगरका १४ वटै वडालाई एकै दिन बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको थियो ।
मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठका अनुुसार बुधबार हुने बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा कार्यक्रम बागमति प्रदेश सरकारका सामाजिक विकास मन्त्री कञ्चनबादे श्रेष्ठको प्रमुख आतिथ्यतामा हुन लागेको हो । उक्त कार्यक्रमको पूर्वसन्ध्यामा नगरका विभिन्न १४ वटै वडामा रहेका सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी, स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि कर्मचारी लगाएतको ¥याली हुनेछन् ।
मन्थली नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष होमप्रसाद पौडेलका अनुसार मन्थलीको गाईखुरा, भैसेश्वर र शहिद स्मृति क्याम्पसबाट बेग्लाबेग्लै ¥याली शुरु गरेर तीनलाल पार्कमा पग्ने कार्यक्रमस्थलमा पुग्ने छन् ।
