रामेछाप- रामेछाप जिल्ला सहकारी संघ लिमिटेडको आयोजनामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको नयाँ सहकारी निर्देशिका तथा नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट शम्भु पौडेलले हालै जारी निर्देशिकाका विभिन्न प्रावधानबारे विस्तृत प्राविधिक जानकारी प्रस्तुत गरे । उनले सहकारी संस्थाहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने कानुनी, वित्तीय प्रक्रिया र प्रतिवेदन प्रणालीबारे व्याख्या गर्दै नयाँ निर्देशिका सहकारीको पारदर्शिता, सुशासन र वित्तीय अनुशासनलाई थप सुदृढ बनाउन ल्याइएको बताए ।

तर, कार्यक्रममा सहभागी सहकारी प्रतिनिधिहरूले जारी निर्देशिका व्यवहारमै कार्यान्वयन गर्न कठिन हुने धारणा राखे । उनीहरूले ग्रामीण तथा भौगोलिक रूपमा टाढा रहेका सहकारीहरूलाई एउटै ढाँचामा बाध्य पार्दा समस्या हुने उल्लेख गर्दै सदस्य संरचना र संस्थागत क्षमताका आधारमा फरक दृष्टिकोण आवश्यक हुनेमा जोड दिए ।

एक सहभागीले भने, “निर्देशिकाको उद्देश्य राम्रो भए पनि सबै सहकारी संस्थाले एकैपटक यसलाई कार्यान्वयन गर्न सक्दैनन् । स्थानीय सन्दर्भलाई ध्यानमा राखेर चरणबद्ध रूपमा अघि बढाउनुपर्छ ।”
रामेछाप जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुगेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाभरिका ६० भन्दा बढी सहकारी अध्यक्ष तथा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले सहकारी क्षेत्रलाई अझ सबल बनाउन नियमनकारी निकाय, जिल्ला सहकारी संघ र स्थानीय सहकारीबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको निष्कर्ष निकाले ।

कार्यक्रमले सहकारी संस्थामा वित्तीय पारदर्शिता र सुशासन स्थापना गर्न नयाँ निर्देशिकाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । तर, स्थानीय तहमा कार्यान्वयन गर्दा व्यवहारिक समस्या समाधान गर्न नीति–निर्माता र नियमनकारी निकायको सहकार्य अपरिहार्य रहने सहभागीहरूको जोड थियो ।