रामेछाप । बर्षाको कारण उच्च जोखिम रहेकाले बिपी राजमार्गमा भदौ १५ गते सम्मका लागि रातिको समयमा सवारी आवागमन बन्द हुने भएको छ ।
काभ्रे जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले काभ्रेको धुलिखेल नगरपालिकामा पर्ने काभ्रेभन्ज्याङ देखि सिन्धुलीको खुर्कोट सम्म राति सवारी आवागन रोक्ने निर्णय गरेको हो । समितिको निर्णय अनुसार दुवै तर्फबाट साँझ ५ वजे देखि सवारी संचालन रोकिने उल्लेख छ ।
गत असोजमा आएको बाढीले रोशीखोला किनारको बिपी राजमार्ग क्षतविच्छेद बनाएको थियो । सरकारले पूर्वि पहाड तथा तराईको मेरुदण्ड सडकको रुपमा रहेको उक्त राजमार्गलाई तत्कालै अस्थायी मर्मत गरी संचालन गर्दै आएको छ । खोलाको गेगर थुपारेर सतह भन्दा उच्च बनाई यातायात संचालन गरेकोले रोशी खोलामा ठुलो बाढी आउदा जुनसुकै बेलामा पनि सडक बग्ने र जनधनको क्षति हुने जोखिम रहेकोले गएको असार ७ गते देखि उक्त राजमार्गमा राति सवारी साधन संचालनमा रोक लगाइदै आएको छ ।
रोशिको कटान हुने जोखिम र सडक भन्दा माथिबाट लेदो सहित पहिरो झरेकोले यस बर्ष पटक पटक विपी राजमार्ग अवरुद्ध हुदै आएको छ । सडक विभागले रोशी खोला किनारका विभिन्न स्थानमा मेसिन राखेर अवरुद्ध भएको सडक तत्कालै खुलाउदै आएको छ । बर्षा अझै जारी रहेकोले उक्त राजमार्गमा यात्रा गर्नेले उच्च सावधानि अपनाउन स्थानीय प्रशासनले आग्रह गर्दै आएका छन् ।
