रामेछाप । मंगलबार दिउँसो देखि तामाकोशी नदीमा हराईरहेका रामेछापको मन्थली नगरपालिका ७ निवासी श्रीबंश शर्मा कँडेल अझै फेला परेका छैनन् ।
मंगलबार विहानको खाना खाएर तामाकोशीमा नुहाउन गएका कँडेल बगेको देखेपछि स्थानीयले तत्कालै खोजि थालेका थिए । जिल्ला स्थित सुरक्षा निकायले समेत उनी बगेको केहि बेर देखिनै खोजि कार्य गर्न थालेका थिए । सुरक्षाकर्मीको खोजि कार्य अझै जारी रहेको छ ।
मन्थली ७ भटौलीका वडा अध्यक्ष भुबनहरी प्रसाईका अनुसार तीन देखि खोजि तिव्र पारिएपनि कँडेलको पत्तो लागेको छैन् । बिहिबार सिन्धुलीको फिक्कल गाउँपालिका सम्म सुनकोशीको किनार सम्म खोजि भएको उनले वताए । बगेको स्थान मन्थली ७ को ढिकुरी मन्दिर देखि तामाकोशीका दुवै किनार र सुनकोशीका दुवै किनारमा खोजि जारी रहेको उनले वताए ।
भक्तपुर जिल्लामा बसोवास गर्दै आएका ७६ बर्षिय कँडेल सामाजिक सुरक्षा भत्ताका लागि परिचय पत्र नविकरण गर्न आईतबार मात्र भटौली स्थित घर फर्केका थिए । सोमबार उनले वडा कार्यालयमा पुगेर परिचय पत्र नविकरण गराएका थिए । मंगलबार विहान भाईको घरमा खाना खाएर घरमा सुत्न जान्छु भनेर हिँडेका कँडेल केहि बेर पछि तामाकोशीमा बगेको स्थानीयले देखेका थिए । उनी विहान पनि तामाकोशीको सोहि स्थानमा नुहाएर फर्केको वताइएको छ ।
