रामेछाप । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले साउन ३१ गते शनिबार तामाकोशी नदीमा पानीको बहाव बढ्ने भन्दै विहान देखि बेलुका सम्म नदी किनारमा हुने गतिविधि नगर्न सूचना जारी गरेको छ ।

आयोजनाले आफ्नो जलासय सफाई गर्ने तालिका भएकाले तामाकोशीमा बाढी आउने जनाएको हो । शनिबार विहान ५ बजे देखि वेलुका ८ वजे सम्म नदीमा नुहाउने, कपडाधुने, बालुवा झिक्ने, सवारी साधन तार्ने लगाएतका कार्य नगर्न आयोजनाले सर्वसाधारणलाई सूचित गरेको हो । आयोजनाले तामाकोशी किनारमा मृतकको दाहसंस्कार या धार्मिक कार्य गर्दा अत्यन्त सावधानिका साथ गर्न पनि आग्रह गरेको छ ।

आयोजनाले दोलखाको बाँध निर्माण भएको लामाबगर देखि दोलखा र रामेछापको विभिन्न स्थान हुदै सुनकोशी दोभान सम्मनै तामाकोशीमा पानीको मात्रा थप घट भइरहने जनाएको छ ।

यसैविच जिल्ला प्रशासन कार्यालय रामेछापले समेत शनिबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको जलासय सफाई हुने भएकाले तामाकोशीमा पानीको सतह थपघट हुने हुदाँ जनधनको क्षति हुन सक्नने भन्दै शनिबार तामाकोशी नदी किनारमा सुरक्षाा सतर्कता अपनाउन बिहिबार सूचना जारी गरेको छ ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले तामाकोशी नदीमा बाँध बनाई जलासयमा पानी जमाउने गरेको छ । उक्त पानी बालुवा थिग्याउने पोखरी हुदै उत्पादन गृहमा पठाउने गरीएको छ । झण्डै १२ लाख घनमिटर पानी अटाउन सक्ने जलासयमा बर्षाको बेला आउने माटो ढुङ्गा काठ आदि अड्किने भएकाले समय समयमा जलासय सफाई गर्ने गरिएको छ ।