रामेछाप । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ ( फोनिज ) को २६ औं स्थापना दिवस शनिबार रामेछापमा विविध कार्यक्रम गरी मनाइएको छ ।

फोनिजका जिल्ला अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वर्तमान समयमा पत्रकारिताको भूमिका र हाल सम्म भएका प्रयासहरुका बारेमा चर्चा गरिएको थियो । मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले उद्घाटन गरिएको उक्त कार्यक्रममा जनजाति पत्रकारहरु र संचारमाध्यममा पहुँच बारे अवधारणा पत्र प्रश्तुत भएको थियो ।

सोहि अवसरमा फोनिज रामेछापद्वारा स्थापना गरिएको उत्कृष्ट जनजाति पत्रकार पुरस्कार बाट पत्रकार ज्ञानु श्रेष्ठ र खोज पत्रकारिता पुरस्कार बाट बद्री नयाँघरेलाई सम्मान गरिएको थियो । उत्कृष्ट जनजाति पत्रकार पुरस्कार नगद १० हजार र सम्मान पत्र तथा खोज पत्रकारिता पुरस्कार ५ हजार नगद र सम्मान पत्र रहेको छ ।
कार्यक्रममा पर्यटन प्रबद्र्धनमा पत्रकारहरुको भूमिका विषयमा अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रियामा जिल्लामा पर्यटनको वर्तमान अवस्था र अव सरकार र संचार माध्यमले निभाउनु पर्ने भूमिकाको विषयमा सहभागिहरुले चर्चा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख लब श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबराज पथिक, सम्मानित बद्री नयाँघरे, ज्ञानु श्रेष्ठ, फोनिजका बागमति प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु हिमाल ढुंगेल , टीकाप्रसाद भट्ट र पत्रकार शान्ता श्रेष्ठले आ आफ्नो मन्तव्य राखेका थिए ।