रामेछाप । रामेछप नगरपालिका ५ को सुनारपानीका भरत वहादुर कार्कीको घरै मुनी घुर्यानको झण्डै एक हातका मकै फल्ने बारीमा विगत ४ बर्ष देखि काँडाले च्वास्स घोच्ने कागति हुर्किदा छन् ।
परम्परागत खेति प्रणाली महंगो भएको र उत्पादन न्यून हुन थालेपछि मन्थली ५ का कार्कीले घर वरिपरीको झण्डै १८ रोपनी बारीमा कागति लगाएका छन् । चार बर्ष देखि लगाउन थालेका कागतिले उत्पादन दिन थालेपछि उनको लगानी पनि फर्कन थालेको छ । कार्कीले झण्डै १ हजार कागति लगाएका छन् । आउने बर्ष बाट उत्पादन झण्डै दोब्बर हुने आशा उनले गरेका छन् ।
‘गत बर्ष १ लाख ५० हजारको बिक्री गरे ’ कार्की भन्छन् – यो बर्ष कति हुन्छ, थाहा छैन्, उनले भर्खर ३ बोरा जति बजारमा पठाएको बताए । कागतिको स्थानीय बजारमा त्यति धेरै माग नभएकाले उनले सिधै काठमाडौं पठाउने गर्छन् । मलजलको प्रवन्ध राम्रो भएकाले कार्कीको बगैंचामा कागति राम्ररी सप्रेका छन् । बार्षिक ५ लाख रुपैयाँ कागति बाट आर्जन गर्ने योजना उनले गरेका छन् ।
नजिकै सल्लाघारीको जंगल रहेकोले सधैं बाँदर वस्ने र त्यसले बालिनालीमा साह्रै दुख्ख दिन थालेपछि कार्कीले कागति खेतिको जुक्ति निकालेका हुन् । परम्परागत खेतिका लागि धेरै जनशक्ति लाग्ने, थोरै आम्दानी हुने र सधैं बाँदर अनि दुम्सी लाग्ने भएकाले आजित भएका बेला रोपिएको कागतिले उनले राम्रै चर्चा कमाएका छन् । तर कागति लगाउदा पनि बन्यजन्तुले दुख्ख दिन छोडेको छैन् । बगैंचाको रेखदेख गर्दै आएका कार्कीका बुबा जितवहादुर भन्छन् – कागतिलाई पनि मिर्गले फेदमा चिथर्दो रहेछ ।
तराईबाट गाडिमा आउने कागतिका कारण स्थानीय बजारमा प्रतिस्पर्धा गर्न अलि कठिन भएको अनुभव उनको छ । तर त्यसलाई चिर्न तराई बाट आउनु भन्दा अघीनै कागति बजारमा पुर्याउन सक्यो भने त्यति प्रभाव नपर्ने कार्कीले वताए । तराईबाट आउने कागति सस्तो भएको जस्तो लागेपनि बिचमा साना र सडेका हाल्ने गरेकाले ग्राहकको रुचिमा स्थानीय कागति पर्ने गरेको उनको अनुभव छ । कार्कीले प्रतिकेजि १ सय ३० रुपैँयामा कागति वजारमा विक्री गरेको सुनाए । सुरुमा कमाई खाने बारीमा कागति लगाएकोमा कार्कीलाई गालि गर्ने धेरै थिए, तर अहिले कार्कीले राम्रो गरेको भनेर गाउँमा चर्चा हुन थालेको छ ।
