रामेछाप । गत कार्तिकमा जडान भएको खुर्कोट स्थित बेलिब्रिजमा कसिएका केहि नटबोल्ट खुस्किएर जोखिम बढेपछि त्यसको मर्मतका लागि नेपाली सेनाको प्राविधिक टोली परिचालन भएको छ ।
नेपाली सेनाको बर्दीबास स्थित ईन्जिनियरीङ युनिटका प्राविधिकहरुले बिहिबार देखि खुर्कोट बेलिब्रिजमा मर्मतको काम थाल्ने भएका छन् । त्यसका लागि सेनाको एउटा टोली बिहिबारनै खुर्कोट आईपुग्ने जनाइएको छ ।
गत बर्ष नेपाली सेनाको ईन्जिनियरीङ गणले जडान गरेको उक्त पुलमा यातायातको चाप बढे सगैं पुल केहि लच्केको, नटबोल्टहरु खुस्कीएका र पुलमा ओछ्याइएका स्टिल पाताहरु हल्लिन थालेपछि जोखिम बढेको गुनासो आईरहेको थियो ।
अघील्लो महिना रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको नेतृत्वमा गएको जिल्ला स्थित सुरक्षा अधिकारीहरुले पुल जोखिममा रहेकोले उच्च निगरानी आवश्यक रहेको वताएका थिए ।
नेपाली सेनाले जडान गरेको उक्त पुलमा अधिकतम १५ टन मात्र भारबहनका साधन संचालन गर्न मिल्ने सेनाले जनाएको थियो । तर स्थानीयले खुर्कोट प्रहरीको मिलेमतोमा बढी तौलका साधन समेत पुलबाट वारपार गर्ने गरेको गुनासो गरेका थिए । पुल लच्किनु र नटबोल्टहरु खुस्कीनुमा त्यहि कारण पनि हुन सक्ने स्थानीयको अनुमान छ ।
गत असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले सुनकोशीको पक्की पुलको ५० मिटरको उत्तरी स्पान बगाएको थियो । पुल बगाएपछि बिपी राजमार्गबाट काठमाडौं र तराई संग सम्बन्ध विच्छेद भएको रामेछापलाई बेलिब्रीजले जोड्न तत्कालिन उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णवहादुर तामाङ ( कान्छाराम ) को सक्रियतामा सडक विभाग, नेपाल विद्युत प्राधिकरण र नेपाली सेनाको समन्वयमा २८ दिनमानै बेलिब्रिज जडान भएको थियो ।
