खुर्कोट ( सिन्धुली ) – घरमा सधैं तर्साएको कारण बस्नै मन नलागेको भन्दै कसैलाई थाहा नदिई १६ जनाको परिवार सहित पोखरा पुगेका गोलञ्जोरका हायुहरु दुई दिन अघी गाउँपालिका फर्के पनि आफ्नो घरमा जान अझै मानेका छैनन् ।

छोडेको घरमा नजाने अडान राखेपछि गोलञ्जोर गाउँपालिका ६ का वडाअध्यक्ष रविनकुमार श्रेष्ठले उनीहरुलाई आफ्नो सुँघुरे स्थित पुरानो घरमा राखेका छन् । गत बर्ष मात्र श्रेष्ठले छोडेका घर खालि थिए । उनका त्याहा ३ वटा घरमा हायु परिवार अटाएको छ । वडा अध्यक्ष श्रेष्ठको अथक प्रयासमा उनीहरु आफ्नो गाउँ फर्केका हुन् ।

हायुहरुलाई राखेको घर वरिपरी खेति किसानीका लागि जग्गा धेरै छैन् । ‘गाउँ भन्दा केहि तल खेत थियो, कमाउछौं भने कमाएर खायो भनेको छु, यो बर्ष त मैले आफैले धान रोपिसकेको छु ’ श्रेष्ठले भने ।

उर्मिला हायु परमेश्वरमा धेरै विश्वास गर्ने गर्छिन् । उनीनै घरमा तर्साउन थालेको , कहिले काँहि ढुङ्गा हान्न थाालेको भनेर बेला बेलामा भन्थिन । उनकी छोरी र ज्याई पोखराको गगनगौंडामा बस्थे । ज्वाईकै लै लै मा उनीहरु पोखरामा पुगेको निकर्ष गाउँलेको छ । ‘ फर्कदा हायु परिवारको साथमा छोरी ज्वाई पनि आएका छन्’ , वडा अध्यक्ष श्रेष्ठ भन्छन् – अवको एक दुई दिनमा उनीहरुलाई पोखरा तिर पठाउने विचारमा छु ।

परिवार संख्या ठुलो भएपनि उक्त हायु परिवारमा कुरा बुज्ने र काम गर्न सक्ने सिमित मात्र थिए । अधिकांश बालबालिका भएकाले ति परिवारको विजोग हुन्छ कि भन्ने पिरलोको कारण वडा अध्यक्ष श्रेष्ठलाई जसरी पनि उनीहरुलाई आफ्नै थातथलोमा फर्काउने हुटहुटी लागेको हो । ‘पहिलो पटक म जादाँ उनीहरु फर्कन मानेनन्’ श्रेष्ठ भन्छन् – पोखरा यहाँ भन्दा अझ महंगो ठाउँ भएकाले केहिले कमाएर कोठा भाडा समेत तिरेर वस्न कठिन महसुस गरेपछि बल्ल उनीहरु थातथलो फर्कन मानेका हुन् । उनीहरु फर्कने संकेत मात्र पाएपछि वडा अध्यक्ष पुन दोश्रो पटक श्रेष्ठ पोखरा पुगेर उनीहरुलाई लिएर आएका हुन् ।

सुँघुरेमा वसोवास गर्न थालेका उनीहरुलाई केहि अवधिका लागि खाने कुराको पनि व्यवस्थापन गरिएको छ छ । एक जनाले मंगलबारबाटै खुर्कोटको होटलमा मासिक १५ हजारको रोजगारी पाएका छन् । अरु २/३ जनालाई खुर्कोटमै रहेको पानी कम्पनीमा काम दिलाउन प्रयास भइरहेको छ । उक्त परिवारका विद्यालय जाने उमेर समूहका सवैलाई सुँघुरेकै विद्यालयमा पठन पाठनको व्यवस्थापन गर्न लागिएको छ । वडा अध्यक्ष श्रेष्ठ भन्छन – काम गर्न सक्नेलाई रोजगारीको व्यवस्थापन गर्दा परिवार सानो हुन्छ ।