रामेछाप । रामेछापका अधिकांश ग्रामिण सडक बर्षाका कारण हिलाम्मे बनेका छन् । कच्चि सडकमा परेका खाडल, जमेको पानीले सवारी साधन सुरक्षित स्थानमा पुग्न कठिनाई हुन थालेको छ ।
मन्थली देखि धोवि हुदै सैपु दुरागाउँ, विजुलीकोट, मन्थलीबाट गोठगाउँ, देउराली साँघुटार, हिमगंगा, मन्थली देखि पुरानागाउँ, चनखु र गेलु, खिम्ती देखि बेताली हुदै सिवालय वाम्ती, कुभु प्रिती, गुप्तेश्वर भुजि रस्नालु ठोसे, खाँडादेविका विभिन्न भाग, सुनापति र दोरम्बा शैलुङका सडकमा अस्तव्यस्त छन् । त्यस्तै सडकमा उच्च जोखिम मोलेर यात्रा गर्न स्थानीय बाध्य छन् ।
निर्माणाधिन सडकमा निर्माण व्यवसायीले ग्राभेल नहालि माटो मात्रै काटेर छोड्दा सडकमा यात्रा जोखिमपूर्ण बनेको हो । कतिपय सडकमा यातायातका साधन जानै नसक्ने अवस्था छ । बल गरेर गएका सवारी साधन पनि दिनभरी फस्ने गरेका छन् । केहि स्थानमा जेसिभी लगाएर गाडि तान्दै गन्तव्यमा पुग्ने प्रयास भइरहेका छन् । तर ति सवै स्थानमा सम्भव छैन् ।
बर्षा भइरहेकोले जोखिम हुने स्थानमा यात्रुबाहक सवारी साधन संचालन अझ चुनौतिको विषय बनेको छ । सालु देखि देउराली हुदै साँघुटार र पश्चिमी ओखलढुंगा जाने यात्रु उच्च जोखिमका कारण उक्त मार्ग भएर हिड्न त्रास हुने गरेको वताउछन् । साँघुटारबाट काठमाडौंका लागि छुटेका सवारी साधन दिनभरी देउरालीका सडकमै फसेका भेटिन थालेका छन् ।
