रामेछाप । केहि बर्ष अघी सोलुबाट रामेछापको शैलुङमा भित्रीएको याक अव सिन्धुपाल्चोकको बाटो लागेको छ । झण्डै डेढ लाख हालेर ल्याएको उक्त याक शैलुङका किसानले सिन्धुपाल्चोकको चौरी गोठमा लाने गरी विक्री गरिदिएका हुन् ।

शैलुङमा याक नहुदाँ हरेक पटक उरङ जातका चौरी किन्दा किसानहरु महंगोमा पर्दै आएपछि सोलुबाट याक ल्याईएको थियो । स्थानीय जातका गाईमा याक लगाएपछि उरङ चौरी जन्मने गर्छ । त्यस अघी महंगो हालेर सोलु र दोलखाका गोठबाट उरङ किनेर ल्याउने चौरीपालक किसानहरुले याक भित्र्याएपछि केहि राहत पाएका थिए । तर धेरै अवधि सम्म याक राखेनन् ।

स्थानीय जातका गाईमा लगाउनका लागि चौरीपालकले सोलु पुगेर २ वटा याक खरिद गरेका थिए । एउटा भने केहि तल झार्ने वित्तिकै विरामी परेकाले उतै छोडियो । एउटालाई भने सिधै गाडिमा हालेर शैलुङ झारेकोले विरामी हुन पाएन । याकलाई तल्लो भुभागमा हिडाएर ल्याउदा बाटैमा विरामी पर्ने डरले गाडिमा हालेर ल्याईएको हो । यस अघी सोलुबाट रामेछापको गुम्देलमा ल्याइएको याक विच बाटोको हावापानी नमिलेको कारण विरामी परेको र त्यहि रोगले थलिएर मरेको थियो ।

शैलुङ क्षेत्रमा १८ गोठ चौरी छन् । त्यसमध्ये १५ रामेछापमा र बाँकी ३ वटा दोलखा जिल्लामा पर्छन् । याक ल्याउनु अघी बाहिरी जिल्ला पुगेर किनेर ल्याएको उरङलाई स्थानीयले गोरु लगाउने गर्थे । गोरु लगाउदा त्यसबाट जम्मेका बाच्छी चौरीले धेरै धेरै दुध दिदैनन् । भाले जन्मियो भने झोप्ले अर्थात भारी बोकाउने गर्ने चलन छ ।

किसानहरुले धेरै दुधका लागि उरङ रोज्ने गर्छन् । याक विक्री गरेपछि स्थानीय चौरीपालकले फेरी उरङ खोज्नका लागि बाह्य जिल्लामा पुग्नु पर्ने भएको छ । याक विक्रीको कारण भने किसानहरुले खुलाएका छैनन् ।