रामेछाप । खोलाको बाढीले दक्षिण तर्फको जग कटान गर्न थालेपछि जोखिममा पुगेको भटौली खोलाको पुल संरक्षणका लागि काम थालिएको छ ।
शुक्रबार राती आएको बाढीले मन्थली देखि पश्चिमी रामेछापलाई जोड्ने भटौली खोलाको पुलको दक्षिणी तर्फको भागमा कटान गरी सडक झारेको थियो । सडक झारेपछि शनिबार विहानै देखि उक्त पुल भएर ठुला सवारी संचालन हुन सकेका छैनन् । पुलको जग नजिकको एप्रोच सडकको भित्री भागको माटो बगाएकाले धोद्रो परेको अवस्था छ ।
पुल जोखिममा रहेको जानकारी पाएपछि जिल्ला विपद व्यवस्थापन समितिले सेना, शसस्त्र र नेपाल प्रहरी समेत संरक्षणका लागि शनिबार देखि खटाएको छ । त्यसैगरी मन्थली नगरपालिका र खाँडादेवि गाउँपालिकाले समेत आवश्यक मेसिन औजार र अन्य सामाग्री जुटाएर संरक्षणको काम थालेका छन् । तारजालीको बाक्सा भरेर तत्काललाई संरक्षणको काम थालिएको वताइएको छ । खाँडादेवि गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले पुल संरक्षणको काम आईतवार पनि हुने जनाएका छन् ।
पश्चिमी रामेछापको खाँडादेवि, सुनापति र दोरम्बाशैलुङ संग जिल्ला सदरमुकाम जोड्न उक्त पुल महत्वपूर्ण रहेको छ । त्यसका अतिरीक्त सित्खाको सडक प्रयोग गरी काठमाडौं ओहोर दोहोरका लागि पनि उक्त पुल भएरै जाउआउ गर्नुपर्छ ।
