रामेछाप । रामेछापको भटौली खोलामा आएको बाढीले कटान गर्दा मन्थली बाट पकरवास तर्फ जाने सडक खण्डमा पर्ने भटौली खोलाको पुल जोखिममा परेको छ ।
खोलाको बाढीले खाँडादेवि ४ तर्फको जग र त्यस भन्दा दक्षिण तर्फको सडक कटान गरेको छ । सडक कटानका कारण पुल बाढीले घेरा हाल्ने जोखिम बढेको हो । बाढीले अधिकांश सडक झारीसकेकोले उक्त पुल भएर हुदै आएका सवारी आवागमन बन्द गरीएको खाँडादेवि ४ का वडा अध्यक्ष कृष्ण्प्रसाद पौडेलले बताएका छन् । यद्यपी मोटरसाईकल सम्म भने चलिरहेका छन् ।
भटौली खोलाको बाढी निरन्तर पुलको जगमा ठोकिन थालेपछि केहि दिन अघीनै उक्त पुल जोखिममा रहेको समाचार बाहिर आएको थियो । तर गए राति आएको बाढीले अझ बढी जोखिम निम्त्याएको छ । ठुलो मेसिन ल्याएर खोला फर्काउने र मर्मतको काम तत्काल थालिएन भने पुल जोगाउन कठिन भएको पौडेलले वताएका छन् ।
मुगिटारबाट माढी मुहान तर्फ जाने सडकमा निर्माणाधिन पुल पनि संकटमा परेको छ । बागमति प्रदेश सरकारको लगानीमा निर्माण हुदै गरेको उक्त पुल भन्दा उत्तर तर्फको ठुलो क्षेत्रफलमा रहेको खेत बाढीले गत बर्ष कटान गरेको थियो । उक्त पुल एकातिर खोला एकातिर रहेको अवस्था छ । खोलाको दिर्घकालिन नियन्त्रण नगरे उक्त पुल समेत संकटमा पर्ने देखिएको स्थानीयले वताएका छन् ।
झण्डै एक दशक अघी जिल्ला विकास समिति मार्फत स्वीस सरकारको सहयोगमा संचालित कार्यक्रम ग्रामिण सडक पुल कार्यक्रमले भटौली खोलाको पुल निर्माण गरेको हो । उक्त पुलले पश्चिमी रामेछापका खाँडादेवि, सुनापति र दोरम्बा शैलुङ गाउँपालिका लाई जिल्ला सदरमुकाम सँग जोडेको छ ।
