रामेछाप । केहि बर्ष अघी सम्म घरेलु हिंसाको कहालिलाग्दो अवस्था रहेको रामेछापमा गत आर्थिक बर्षमा भने घरेलु हिंसाको नगन्य घटना मात्र जिल्ला प्रहरी कार्यालय सम्म आईपुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापले बुधबार सार्वजनिक गरेको बार्षिक तथ्याङ्कमा जिल्ला भर जम्मा ११ वटा घरेलु हिंसाका उजुरी प्राप्त भएका थिए । ति मध्ये पनि १० वटा प्रहरीले दुई पक्ष राखेर छलफल गराई मेलमिलाप गराएर पठाएको छ । प्रहरीले छलफल गराउदा समेत नमेलेको १ हिंसाको घटना अदालतमा गएको थियो । घरेलु हिंसाका कतिपय घटना गाउँसमाज र स्थानीय तहमै मिल्ने गरेका उदाहरण समेत छन् ।
रामेछाप जिल्लामा घरेलु हिंसा, जबरजस्ती करणी र जवरजस्ती करणी गर्ने उद्योगका घटना धेरै हुने गरेका थिए । यो तथ्यांकले घरेलु हिंसाका घटनामा भने सुधार आएको देखिएको छ ।
जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरणमा गत आर्थिक बर्षमा विभिन्न किसिमका समस्या लिएर प्रहरी समक्ष १ सय ९९ वटा ठाडो उजुरी परेका थिए । ति मध्ये १ सय ८५ वटा उजुरीहरु प्रहरीले किनारा लगाइसकेको छ । १२ उजुरी अव प्रकृयामा बाँकी रहेका छन् ।
जिल्लामा विभिन्न घटनाका १ सय ७० वटा मुद्धा दर्ता भएकोमा ७५ वटा किनारा लागेका र ९५ वटा किनारा लाग्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीले गत आर्थिक बर्षमा सवारी नियमन र जरिवाना, अदालतबाट भएका फैसलाको कार्यान्वयनको अवस्था लगाएतका विवरण समेत सार्वजनिक गरेको छ । त्यसका अतिरीक्त प्रहरीले सामुदायमा अपराध न्यूनिकरण गर्नका लागि गरेका सचेतनामुलक कार्यको पनि विवरण सार्वजनिक गरेको छ ।
