रामेछाप । रामेछापको सुनापति गाउँपालिकाको पर्यटन विकासको लागि राजधानी काठमाडौंमा सरोकारवाला निकाय विच अन्तरक्रिया गरिएको छ ।

आईतबार आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्लाका अगुवा राजनीतिककर्मी र सरोकारवाला निकायका पदाधिकारीले सुनापति गाउँपालिकामा पर्यटकिय विकासमा भएका प्रयास र भविष्यमा गर्नुपर्ने कार्यको बारेमा आ आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा पूर्व उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णवहादुर तामाङ (कान्छाराम) ले सरकारले खानेपानी र सडक पूर्वाधार निर्माणका लागि सुनापतिमा ठुलो लगानी गरेको भन्दै थप पूर्वाधारको निर्माणमा आफ्नो सक्दो सहयोग हुने वताए । उनले गाउँपालिकाका ४ वटा वडामा वितरण हुने वृहद खानेपानी योजना र लुभुघाट देखि डम्फुडाडाँ सम्मको कालोपत्र सडकको निर्माण थालिएको भन्दै गाल्वा सम्मको कालोपत्र सडक निर्माणमा सवैको सहयोग हुने वताए ।

पूर्व गृह राज्यमन्त्री तथा माओवादी नेता श्यामकुमार श्रेष्ठले सुनापतिलाई युद्ध पर्यटन बाट पनि चिनाउन सक्नुपर्ने वताए । नेपालमा सवैभन्दा पहिलो माओवादी फौजि आक्रमण बाट सुनापतिको बेथान प्रहरी चौकीमा माओवादीले कव्जा जमाएका थिए । अहिले पनि हरेक बर्ष माओवादीले बेथानको पानिघाटमा विरता दिवस मनाउने गरेको छ । श्रेष्ठले सुनकोशी ३ जलविद्युत आयोजनाको जलासय निर्माण पछि राजधानीबाट सुनापतिमा थप पर्यटक आउन सक्ने तर्फ औल्याएका थिए ।

नेकपा एकिकृत समाजवादीका नेता तथा पूर्व सांसद देवशंकर पौडेलले सुनापतिमा धेरै पर्यटकिय क्षेत्र रहेको औल्याउदै त्यसको खोजि हुनु आवश्यक रहेको वताए । खनियापानीको देशारगाउँको तामाखानी, गाउँपालिका नजिकको चेप, अग्लेश्वरी र त्यसबाट झर्ने जिवाशेष भेटिनो अद्भुत ढुङ्गा, दोरम्बा भन्दा पश्चिमको चम्का, गुराँसे र जम्दारसुबेदार धारोको उनले चर्चा गरे । पौडेलले सुनापतिको पर्यटन विकासको कुरा गर्दा दोरम्बा शैलुङलाई पनि समेटनु पर्ने सुझाव दिए ।

कार्यक्रममा नेकपा एमालेका नेता कमलप्रसा चौलागाईले सुनापतिमा विभिन्न जातजातिको संस्कृतिका लागि पनि काम गर्नुपर्ने वताए । उनले अन्य जातजाति सगैं सुनापति पनि पुरानो मगर संस्कृति रहेको वताए । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले गाउँपालिकाले थोरै समयमा धेरै महत्वपूर्ण कार्य गरेको उल्लेख गरे ।

सुनापति गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा प्रदेश सांसद युवराज चौलागाई, नेपाल पर्यटन बोर्डका रामप्रसाद सापकोटा, टानका अध्यक्ष सागर पाण्डे लगाएतले सुनापतिमा साहसिक पर्यटन होमस्टे लगाएतका पूर्वाधारमा लगानी गर्नुपर्ने औल्याएका थिए । कार्यक्रममा सुनापतिमा हाल सम्म भएका पर्यटन पूर्वाधार र संभावनाका बारेमा गाउँपालिकाकी उपाध्यक्ष गीता विष्टले प्रकाश पारेकी थिईन् ।

पश्चिमी रामेछापको सुनापति रामेछाप जिल्लाको सबैभन्दा सानो क्षेत्रफलमा फैलिएको गाउँपालिका हो । उक्त गाउँपालिकामा सुनापति डाडाँ, लहरे माने, चिया बगान, डम्फुपार्क, पानीघाट, हेम्मो जातिको संस्कृति र सु्नकोशी राफ्टिङ जस्ता पर्यटकिय संभावना छन् । गाउँपालिकाले सुनापतिडाडाँबाट केहि बर्ष अघी प्याराग्लाईडिङको पनि सफल परिक्षण गराएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेशकुमार श्रेष्ठले वताए ।