रामेछाप । केहि दिन अघी मन्थली नगरपालिका ८ र ११ को विचमा पर्ने बफर खोलामा आएको बाढीले डाईभर्सन बगाउदा अवरुद्ध भएको यातायात शनिबार देखि संचालनमा आएको छ ।
मन्थली नगरपालिकाले अस्थायी रुपमा बफर खोलामा यातायातका साधन संचालन हुने गरी सडक सुधार गरेपछि गेलु तर्फको यातायात आवागमन सहज भएको हो । बाढीका कारण केहि दिन देखि गेलु तर्फ सिधा आवागमन राेकिएको थियाे ।
मन्थली नगरपालिकाका सव ईन्जिनियर होम खड्काका अनुसार दुई बर्ष अघी मन्थली नगरपालिकाले डाईभर्सन बनाउदा प्रयोग गरेका ह्यूमपाईपलाईनै प्रयोग गरी अस्थायी रुपमा सडक संचालनमा ल्याइएको हो । साना चारपाङ्ग्रे सवारी साधन र बाईक संचालन हुन थालेको बताउदै खड्काले यात्रु बाहक बस र मालबाहक ठुला सवारी साधन उक्त डाईभर्सनबाट आवतजावत गर्न अझै कठिनाई हुने वताएका छन् । बफर खोलामा पानीको मात्रा ठुलो भएकाले तत्कालै यसभन्दा बढी मर्मत कार्य गर्न समेत कठिनाई परेको हो ।
गत आर्थिक बर्षमा पूर्वाधार विकास निर्देशनालय हेटौंडाले गेलु र चिसापानी तर्फको सडकमा ढलान र टेवा पर्खालको काम गरेको थियो । बाढीले उक्त काम भने क्षति पुगेको छैन् । तर केहि थान तारजालीका बाक्सा उक्त योजनामा समावेश भएको थियो । उक्त तारजालि भने क्षति पुगेको छ । बफर खोलामा दुई बर्ष अघी मन्थली नगरपालिकाले झण्डै १४ लाख खर्च गरेर ह्यूमपाईप राखेर डाईभर्सन बनाएको थियो । त्यसअघी खोलाको बाढीले गेलु तर्फको यातायात सेवा बर्षायाममा कठिनाई हुदै आएको थियो ।
