रामेछाप । रोशीको किनारमा रहेको बिपी राजमार्गमा बिहिबार देखि एक महिना सम्म रातिको समयमा सवारी साधन संचालन नहुने भएका छन् । काभ्रे प्रशासनले विपद्जन्य घटनाबाट हुन सक्ने जोखिम कम गर्नका लागि राजमार्गमा रात्रिकालिन यात्रालाई निषेध गरेको हो ।
मंगलबार काभ्रे जिल्लामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो । निर्णय अनुसार साउन १ गते देखि साउन मसान्त सम्म साँझ ५ बजे देखि विहान ५ बजे सम्म काभ्रेको काभ्रेभन्ज्याङ देखि नेपालथोक सम्मको सडकमा सार्वजनिक तथा निजी सवारी साधन संचालन गर्न निषेध गरिएको हो ।
गत बर्षको असोजमा आएको बाढीले क्षतिविच्छेद भएको विपी राजमार्गलाई अस्थायी रुपमा खोला किनारमा ग्राभेल भरेर संचालनमा ल्याइएको छ । ठुलो बाढी आउदा उक्त अस्थायी सडक बगाउने त्रास रहेकै बेला विभिन्न स्थानमा सडक भन्दा दक्षिण तर्फको पाखोबाट झर्ने पहिरो र खोलाखोल्सीले बगाएर ल्याएको लेदोले बारम्बार राजमार्ग अवरुद्ध हुदै आएको छ । घण्टौ अवरुद्ध भएको राजमार्ग लाई सडक विभागले मेसिन लगाएर संचालनमा ल्याउन काम गर्ने गरेको छ ।
यसअघी सिन्धुली, रामेछाप र काभ्रेका सुरक्षा अधिकारीहरुको खुर्कोटमा बसेको बैठकले असार सम्मका लागि राजमार्गमा रात्रीकालिन यात्रालाई निषेध गर्ने निर्णय गरेको थियो ।
