रामेछाप । सरकारले चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रममा खानेपानी उपभोक्ता समितिहरुले आर्जन गर्ने मुनाफामा कर लगाउने विषय समावेश भएकाले त्यसलाई कार्यान्वयन नगर्न देशभरका खानेपानी उपभोक्ता समितिहरु आन्दोलित भएका छन् ।

यसै सन्दर्भमा रामेछापको खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखाले सोमबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ज्ञापन पज्ञ वुझाएको छ । महासंघका जिल्ला अध्यक्ष लेखवहादुर कार्कीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको उपभोक्ता समितिका पदाधिकारीहरुको टोलीले प्रजिअ श्यामकृष्ण थापालाई ज्ञापन पज्ञ वुझाएको हो ।

ज्ञापन पत्रमा गैरनाफामुलक सामुदायिक संस्थाको रुपमा खानेपानी तथा सरसफाई सेवा उपलव्ध गराउन र त्यसलाई दिगो राख्न प्रयत्नसिल रहेको भन्दै संविधानले मौलिक हकको रुपमा राखेको खानेपानी जस्तो संवेदनशिल कुरामा कर लगाउने निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा खानेपानीमा कर छुट र विद्युत महसुल छुट गरिदिन माग गरिएको छ । देशभर करिव ४५ हजार खानेपानी उपभोक्ता समितिहरुले नागरिकलाई स्वस्च्छ खानेपानी आपुर्तिका लागि स्वयंसेवि भूमिकाको रुपमा कार्य गर्दै आएका छन् ।