रामेछाप । ग्रामिण समुदायमा वसोवास गर्ने नागरिकहरुलाई अदालत, कानुन र यसमा भएका व्यवस्थाका बारेमा रामेछाप जिल्ला अदालतले आईतबार दक्षिणी रामेछापको रामपुरमा न्यायमा बाह्य पहुँच कार्यक्रम संचालन गरेर जानकारी दिएको छ ।
ग्रामिण क्षेत्रमा जिल्ला न्यायाधीश आफै पुगेर कानुनमा रहेका विभिन्न घरायसी, देवानी र फौजदारी प्रकृतिका विवादको स्वरुप , त्यसमा कानुनमा भएका व्यवस्था र न्यायालय सम्म जाने प्रकृयाका बारेमा स्थानीयलाई जानकारी गराइएको थियो ।
जिल्ला न्यायाधीश राजेन्द्र नेपाल र जिल्ला न्यायाधीवक्ता लोकवहादुर कटवाल, जिल्ला अदालतका श्रेस्तेदार मधुसुधन आचार्यले कानुनमा दण्डनिय हुने कुराका बारेमा सर्वसाधारणलाई अझै पनि पूर्ण जानकारी नभएकोले जिल्ला न्यायाधीशहरु जिल्ला अदालत भन्दा पनि बाहिर पुगेर न्यस बारेमा जानकारी दिन थालिएको वताएका थिए ।
कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले ग्रामिण क्षेत्रमा हिंसा, देवानी प्रकृतिका थुप्रै घटना हुने गरेका तर कानुनी पक्षको बारेमा प्रयाप्त जानकारी नहुने र पहुँच नभएको भनेर त्यस्ता घटनाका विरुद्धमा अदालत सम्म पुग्न नसकेका उदाहरणहरु रहेको वताए । उनले कानुनी पक्ष र त्यसमा रहेका व्यवस्थाका बारेमा ग्रामिण क्षेत्रमा पुगेर साक्षरतानै संचालन गर्नुपर्ने आवश्यकता देखिएको औंल्याए । कार्यक्रम जिल्ला अदालत रामेछापले आयोजना गरेको थियो ।
