रामेछाप । रामेछाप नगरपालिकाले विकास निर्माणका लागि यस आर्थिक बर्षका लागि बिनियोजन गरेको रकम मध्ये २५ प्रतिशत रकम खर्च हुन नसकेको विवरण सार्वजनिक भएको छ ।
आर्थिक बर्ष २०८१।०८२ का लागि नगरपालिकाले पूँजिगत खर्च तर्फ २६ करोड ३८ लाख ४४ हजार बजेट विनीयोजन गरेको थियो । पूर्वाधार निर्माणमा खर्च हुने उक्त शिर्षकको बजेट मध्ये आर्थिक बर्षको अन्तिम सम्म जम्मा १९ करोड ६९ लाख ५५ हजार मात्र खर्च भएको छ । विकास निर्माणको काम समयमा नभएको, तोकिएको परिमाण भन्दा कम भएको र ठेक्काबाट लागत घटन गएको कारणले पूँजिगत खर्च लक्ष्य बमोजिम नभएको हो ।
रामेछाप नगरपालिकाले शनिबार रामेछापमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाईले प्रश्तुत गरेको बार्षिक प्रगति विवरण अनुसार चालु खर्च तर्फ पनि नगरपालिकाले लक्ष्यको ८७ दशमलव ४८ प्रतिशत मात्र खर्च भएको छ ।
यस आर्थिक बर्षका लागि नगरपालिकाले चालु खर्चका लागि ५० करोड ५० लाख ४३ हजार विनीयोजन गरेकोमा ४४ करोड १८ लाख मात्र खर्च भएको थियो । चालु खर्च तर्फ कर्मचारीको तलव भत्ता, बैठक, विभिन्न समारोह, संस्था सहयोग, तालिम गोष्ठी , यातायात, ईन्धन लगाएतमा खर्च हुने गर्छ ।
रामेछाप नगरपालिकाले यस बर्ष आन्तरिक आयमा भने लक्ष्य भन्दा धेरै प्रगति हासिल गरेको छ । बजेट तथा कार्यक्रममा आन्तरिक आय तर्फ १ करोड १२ लाख १४ हजार प्राप्त हुने अनुमान गरिएको थियो । तर लक्ष्य भन्दा बढी अर्थात १ करोड २८ लाख ५७ हजार राजश्व आर्जन गर्न सफल भएको चापागाईले वताए ।
कार्यक्रममा नगर प्रमुख लबश्री न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, उप प्रमुख बालकुमारी थापा कार्की, राजनीतिक दलका अगुवाहरुले नगरपालिकाले गरेका विभिन्न रचनात्मक कामको चर्चा गर्दै भावि दिनमा सुधार गर्नुपर्ने कुराको पनि सुझाव दिएका थिए ।
