रामेछाप । सरकारले सामाजिक सुरक्षा भत्ता, बैंक खाता तथा अन्य कामका लागि राष्ट्रिय परिचय पत्र लाई अनिवार्य गर्ने निर्णय गरे सगैं जिल्ला प्रशासन कार्यालयले आउने साउनमा फेरी गाउँमा परिचय पत्र बनाउनका लागि टोली खटाउने भएको छ ।
परिचय पत्र नभएका बृद्धबृद्धाले सामाजिक सुरक्षा भत्ता पाउन नसक्ने अवस्था आउने भएपछि प्रशासनले उक्त अग्र्रसरता देखाएको हो । जिल्लाका दुर्गम स्थानबाट वृद्धबृद्धा, अपाङग लाई जिल्ला सदरमुकाममा ल्याएर परिचय पत्र बनाउन कठिनाई थियो । प्रशासनले टोली खटाएपछि तिनीहरुले सुविधा पाउने छन् । परिचय पत्रका लागि आफै उपस्थित हुनै पर्ने बाध्यकारी अवस्थाका कारण कतिपयले उक्त सेवा लिन सकिरहेका थिएनन् ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले साउनमा कार्यालयमा सेवा लिन आउनेको संख्या न्यून हुने गरेका अघील्ला बर्षहरुको अनुभवको आधारमा त्यहि समयलाई सदुपयोग गर्दै टोली गाउँमा पठाउने जानकारी गराएका छन् ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले दुई बर्ष अघी रामेछाप जिल्लाका सवै वडाहरुमा परिचय पत्रका लागि टोली खटाएको थियो । त्यसबेलामा सेवा लिन छुटेका र त्यसपछि नागरिकता प्राप्त गरेकाले अव सुविधा पाउने छन् । जिल्ला प्रशासन कार्यालयको हातामा पनि परिचय पत्र बनाउने कार्य हुदै आएको छ ।
