रामेछाप-जिल्ला प्रशासन कार्यालय रामेछापले नदी तटीय क्षेत्रमा वसोवास गर्ने नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले एक सूचना प्रकाशन गरी नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय रामेछापले सिन्धुपाल्चोकबाट मङ्गलवार जारी सूचना उल्लेख गर्दै छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा बर्षा भइरहेको र मङ्गलवार राति बढी बर्षा हुन सक्ने सम्भावना रहेकोले सुनकोसी नदीसमेतको आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरुमा सतर्कता अपनाउन सजक गराइन्छ सूचनामा भनिएको छ ।


सुनकोशी नदीमा आउन सक्ने बाढीबाट रामेछाप जिल्लाको सुनापति गाउँपालिका, खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका, रामेछाप नगरपालिकाको सुनकोसी नदी किनारको वस्ती र वर्षा यामको समय भएकोले अन्य नदीहरुको किनारको वस्तीमासमेत जोखिम हुनसक्ने भन्दै नदीको तटीय क्षेत्रमा बसोवास गर्ने आम नागरिकहरुले सर्तकता अपनाउनु हुन अनुरोध गरिन्छ, जिल्ला प्रशासन कार्यालय रामेछापद्धारा जारी सूचनामा भनिएको छ ।

छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र मङ्गलबार राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जनाएका छन् ।
जसका कारण भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दाहरुमा सतर्कता अपनाउन र अरनिको राजमार्ग (बन्देउदेखि लिपिङ) मा सवारी साधन चलाउँदासमेत सतर्कता अपनाउन आग्रह गरिएको छ ।