रामेछाप । दोलखा र रामेछापको सिमावर्ति क्षेत्रमा पर्ने पर्यटकिय स्थान शैलुङमा फोहोर मैला बढ्न थालेपछि सचेतना बोर्ड र फोहोर संकलन गर्ने फलामे बाकस राखिएको छ ।

शैलुङ घुम्न जाने पर्यटकहरुले बोकेर जाने जङ्क फुडका प्याकेट, फलफुलका बोक्रा, सियो पेय पदार्थ, वियर र पानीका बोटल लगाएतका फोहोर जथाभावि फाल्ने क्रम बढेपछि सचेतना र संकलन गर्न थालिएको हो ।

दुवै जिल्लाको बाटो भएर शैलुङ घुम्न आउने पर्यटकले फोहोर गर्ने गरेको तर कुन जिल्लाले त्यसलाई व्यवस्थापन गर्ने भन्ने विषयमा बर्षौ देखि विवाद हुदै आएको छ । शैलुङको सिमा विवाद समेत रहेकोले त्यसै संग जोडिएका विषयहरुमा पनि विवाद रहेको स्थानीयले वताएका छन् ।

केहि बर्ष अघी शैलुङको टाकुरामा निर्मित भ्यू टावर भित्रै दिशा पिसाव गरेको अवस्था थियो । तर उक्त भ्यू टाावरलाई सफाई गरी बौद्ध धर्मगरु वस्न थालेपछि टावर भित्रको फोहोर रोकियो । तर बाह्य क्षेत्रमा जताततै फोहोर हुने क्रम भने रोकिएन ।

डिभिजन बन कार्यालय रामेछापले शैलुङमा पुगेर सचेतनाको होडिङ वोर्ड राख्नुका साथै फोहोर संकलनका लागि फलामे बाकस राखिदिएको छ । तर स्थानीय स्तरमा निगरानी गर्ने समूह नभएकाले फोहोर मैला रोकिनेमा स्थानीयले शंका गरेका छन् ।