रामेछाप- देशभर सञ्चालन गरिरहेको सुनचाँदी व्यवसायीको आन्दोलनमा रामेछाप उद्योग वाणिज्य सङ्घले पनि ऐक्यवद्धता जनाएको छ ।
रामेछाप उद्योग वाणिज्य सङ्घका महासचिव कुमार श्रेष्ठद्धारा विज्ञप्ति जारी गर्दै सुनचाँदी व्यवसायीको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । सुनचाँदी व्यवसायीले उठाएका मागहरू जायज रहेको र सरकारले यथाशीघ्र वार्ता तथा समाधानतर्फ ध्यान दिनुपर्ने महसचिव कुमार श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले आर्थिक वर्ष ०८२/०८३ को बजेटमा सुनमा लगाएको करमा २ प्रतिशत र हिरापत्थर जडित गहनामा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, सुनको भन्सार छिमेकी मुलुक भारतजस्तै कायम गर्नुपर्ने, सुनचाँदीको कारोबारको लागि स्पष्ट नीति र नियमावली निर्माण गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ ।


व्यवसायीहरुले शान्तिपूर्ण ढङ्गले आफ्ना अधिकार र मागहरू प्रस्तुत गरिरहेकाले त्यसप्रति रामेछाप उद्योग वाणिज्य सङ्घ पूर्ण ऐक्यबद्धता व्यक्त गर्दछ विज्ञप्तिमा उल्लेख छ । सङ्घले सरकारले व्यवसायमैत्री नीति अपनाउनुपर्नेमा जोड दिँदै आन्दोलनलाई बेवास्ता गर्दा स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई नै असर पुग्ने चेतावनी समेत दिएको छ ।


साथै, सङ्घले व्यवसायीको मागप्रति गम्भीरताका साथ सम्वाद गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ । रामेछाप उद्योग वाणिज्य सङ्घले विगतदेखि नै स्थानीय व्यवसायको संरक्षण, प्रवर्धन र समस्या समाधानका लागि अग्रसर रहँदै आएको सङ्घको भनाइ छ ।