रामेछाप-एमनेस्टी इन्टरनेशनल नेपाल, समूह १९ रामेछाप शाखाको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले मानवअधिकार प्रवर्धनमा युवाहरूको भूमिका अत्यन्तै महìवपूर्ण रहेको बताए । उनले स्थानीय तहसँग सहकार्य गर्दै अघि बढ्दा अभियानहरू अझ प्रभावकारी हुने बताए ।


सामाजिक अभियन्ता गोविन्द घिमिरेले ग्रामीण भेगमा मानवअधिकारको अवस्था अझै पनि संवेदनशील रहेको भन्दै शिक्षा, स्वास्थ्य, न्याय र लैङ्गिक समानतामा अझ धेरै काम गर्न बाँकी रहेको बताए । एमनेस्टी इन्टरनेशनलको ध्यान विकास, बजेटतर्फ आकर्षित नभएको भन्दै त्यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको घिमिरेको भनाइ छ ।


एमनेस्टी इन्टरनेशनल नेपाल रामेछापका पूर्व अध्यक्ष हिमाल ढुङ्गेलले विश्वव्यापी मानवअधिकार चुनौतीको सन्दर्भमा एमनेस्टीले खेलेको भूमिकाबारे जानकारी गराएका थिए । स्थानीय स्तरको सक्रियता प्रशंसनीय रहेकोसमेत उनले बताए । त्यस्तै, मानवअधिकार विज्ञ डा. सुमन कर्माचार्यले मानवअधिकारका सार्वभौम मूल्यहरूलाई व्यवहारमा लागू गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए । नीतिगत सुधार, जनचेतना अभिवृद्धि र युवाको नेतृत्व विकासमा एमनेस्टीको योगदान उल्लेखनीय रहेको उनको भनाइ थियो ।


साधारण सभामा प्रगति प्रतिवेदन र आर्थिक विवरण प्रस्तुत गरिनुका साथै आगामी वर्षको कार्ययोजना समेत सार्वजनिक गरिएको छ । सहभागीहरूबाट समूहगत छलफलमार्फत सुझावहरू सङ्कलन गरिएको थियो भने सङ्गठनात्मक सुदृढीकरण र अभियान प्रवर्धनका विषयमा व्यापक छलफल गरिएको थियो । कार्यक्रमका सहभागीहरूले मानवअधिकारका मूल्य र सिद्धान्तलाई जीवनशैलीमा उतार्ने प्रतिबद्धता जनाएका छन् । उक्त साधारण सभा एमनेस्टी इन्टरनेशनल नेपाल, समूह १९ रामेछापका अध्यक्ष अप्रिल अधिकारीको अध्यक्षता सम्पन्न भएको हो ।