रामेछाप । शहरी विकास मन्त्रालयले आर्थिक बर्ष २०८२।८३ का लागि विनीयोजन गरेको बजेटमा रामेछाप जिल्लाका पुरानो दायित्वको भुक्तानी गर्नमा बढी केन्द्रीत रहेको पाइएको छ ।
रामेछापबाट प्रतिनिधित्व गर्ने सांसद तथा पूर्व राज्यमन्त्री पूर्णवहादुर तामाङ (कान्छाराम) ले शहरी विकास मन्त्रीले सदनमा प्रश्तुत गरेको गलत र भ्रमपूर्ण तथ्याङ्कले मर्माहत वनाएको बताएका छन् । उनले रामेछापमा नगन्य र अन्यायपूर्ण बजेट विनीयोजन भएको भन्दै जिल्लामा प्राप्त योजनाहरुको फेहरिस्तनै प्रकाशित गरेका छन् ।
तामाङले रामेछापबासीका नाममा अपिल जारी गर्दै उक्त मन्त्रालयले आगामी आर्थिक बर्षका लागि विनीयोजन गरेको भनिएको बजेट मध्ये अधिकांश पुराना दायित्व भुक्तानी गर्नुपर्ने बजेट रहेको उल्लेख गरेका छन् । उनले कुल रामेछाप जिल्लाका लागि बिनियोजित ६५ करोड २९ लाख बजेटमा ५५ करोड ७८ लाख पुराना योजनाहरुका लागि रहेको र ९ करोड ५१ लाख नयाँ योजनाका लागि बिनीयोजन भएको स्पष्ट पारेका छन् । क्रमागत र केहि बर्ष अघी निर्माण सम्पन्न भएका योजनाहरुको नाममा विनीयोजित भएको बजेटले जिल्लाबासीले थप कुनै सुविधा नपाउने उनले उल्लेख गरेका छन् ।
शहरी विकास मन्त्रालयबाट बजेट बिनीयोजन भएका स्वास्थ्य भवन निर्माण, सडक, शहरी पूर्वाधार, घाट निर्माण लगाएतका योजनाहरु बर्षौ पुराना हुन् । हामीले खोजेको नयाँ र नागरिकले चाहेका योजनामा बजेट परोस भन्ने हो तामाङले भने – बजेटको थुप्रो देखाएर झुक्याइएको छ । उनले जिल्लाको चौतर्फि विकासका साथै सत्य र न्यायका लागि सधैं लडिरहने वताएका छन् ।
