रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका ३ रस्नालुको निगालेमा वितरण भएको खानेपानीमा विशाक्त जिवाणु कोलिफर्म भेटिएको छ । बर्षायाममा खोलाको पानी बगेर खानेपानीको श्रोतमा मिसिएकोले उक्त समस्या आएको हुन सक्ने वताइएको छ ।
केहि दिन अघी गाउँका धेरैमा झाडापखाला लागेपछि निगालेमा रहेका विभिन्न ५ वटा श्रोतको पानी परिक्षण गर्न पठाइएकोमा च्वाइस १ र २ मुहानको पानीमा विशाक्त जिवाणु कोलिफर्म फेला परेकोे हो । उक्त खानेपानी भण्डै ६० परिवारले खादै आएका थिए ।
गोकुलगंगा ३ का वडा अध्यक्ष नरविक्रम कार्कीका अनुसार परिक्षणबाट पानीमा विशाक्त जिवाणु भेटिएको पुष्टि भएपछि स्थानीय बासिन्दालाई पानी उमालेर खान निर्देशन गरिएको छ । पालिकाले उक्त जिवाणुलाई नष्ट गर्नका लागि आवश्यक केमिकल पनि प्रयोग गरेको जनाएको छ ।
वडा अध्यक्ष कार्कीले निगालेमा फैलिएको झाडापखाला नियन्त्रणमा आईसकेको र खानेपानी योजनामा समेत जिवाणु नष्ट गर्ने केमिकलको प्रयोग भएकोले अव थप समस्या नहुने आशा गरिएको वताए ।
