रामेछाप । रामेछापको मन्थली नगरपालिका २ र लिखु तामाकोशी गाउँपालिका ७ को विचमा पर्ने कठजोर खोलामा पुल निर्माण भएपछि यातायातका साधन संचालनमा सहजता आएको छ ।
मन्थली २ को बान्द्रेबाट ताप्के हुदै तिल्पुङ जाने छोटो सडकमा पुल नहुदा कठजोर खोलामा बाढी आउदा यातायात संचालनमा कठिनाई हुदै आएको थियो । उक्त पुल निर्माण पछि अव ताप्के तर्फको आउजाउ सहज भएको छ ।
गत बर्ष आएको बाढीले कजवे वगाएपछि बर्षायाममा सडक संचालनमा आउन सकेको थिएन । खोलामा पुल निर्माणका लागि सरकारी निकायलाई गुहार गरिएको भएपनि कतैबाट बजेट नपरेपछि स्थानीय स्तरमै समन्वय गरेर पुल निर्माण गरिएको हो ।
मन्थली २ का वडा अध्यक्ष सुरेन्द्रवहादुर कार्कीका अनुसार लिखु तामाकोशी गाउँपालिका ७ तिल्पुङ निवासी डम्बरवहादुर थापाको अगुवाईमा उक्त पुल निर्माण भएको हो । थापा एक्लैले पुल निर्माणका लागि झण्डै ९ लाख ५० हजार बेहोरेका थिए । मन्थली नगरपालिका २ ले लागत साझेदारी कार्यक्रम अन्तरगत ३ लाख ५० हजार रुपैया बेहोरीएको थियो । पुल निर्माणका लागि १३ लाख खर्च लागेको छ ।
करिव ८ लामो उक्त पुल ( कल्भर्ट ) निर्माण पछि बर्षायाममा कठजोर खोलाको बाढीबाट जोगिन र आवागमनमा सहजता आएको कार्कीले वताए ।
