रामेछाप, । सन् २०२५ को पहिलो ६ महिनाको अवधिमा रामेछापमा १० वटा मानवअधिकार उलङ्घनका घटना घटेका छन् । शुक्रबार मन्थलीमा आयोजित कार्यक्रममा उक्त जानकारी गराईएको हो ।

मानव अधिकार संरक्षण सञ्जाल रामेछाप र इन्सेकको आयोजनामा भएको कार्यक्रममा मानवअधिकारबादी संस्था इन्सेकको तर्फबाट पहिलो ६ महिनामा सङ्कलन भएका घटनाको बरे जानकारी गराइएको थियो । जिल्ला प्रतिनिधि नवराज पथिकले पहिलो ६ महिनामा १० वटा घटना अभिलेखीकरण भएको कार्यक्रममा जानकारी दिए । घरेलु हिंसा, जातीय विभेद, धम्की, बाल अधिकार लगायतका घटना यो अवधिमा घटेको उनले वताए ।

तर जिल्ला प्रहरी कार्यालयको विवरणमा भने थप घटना घटेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता इन्सपेक्टर कौशल न्यौपानेले हत्याका २, आत्महत्या दुरुत्साहनका १, यौनजन्य अपराधका ६, जातीय विभेदका १, घरेलु हिंसाका ५ वटा घटना प्रहरी समक्ष आएका वताए। त्यस्तै यो ६ महिनामा आत्महत्याका १८ वटा घटना जानकारीमा आएको उनले वताए ।

कार्यक्रममा जिल्ला अदालत रामेछापका श्रेस्तेदार मधुसूदन आचार्य जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधीवक्ता विनीता कपाली, रामेछाप बार एशोसियशनका का अध्यक्ष यादव दाहाल , गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेल र नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक घिमिरे लगाएतले आ आफ्ना धारणा राखेका थिए । 

कार्यक्रम मानव अधिकार संरक्षण सञ्जाल रामेछापका अध्यक्ष पाण्डब प्रसाईकाे अध्यक्षतामा भएको थियाे ।