रामेछाप । झण्डै १० महिना क्षतिग्रस्त पुछिघाटको झोलुङ्गे पुलमा लठ्ठामा समाएर झुण्डिदै यात्रा गर्ने रामेछापको खाँडादेविका बासिन्दा अव सहज यात्रा गर्न पाउने भएका छन् । गत असोजको दोश्रो साता सुनकोशी नदीमा आएको बाढीले पुछिघाटको पुल क्षतिग्रस्त पारेको थियो । पाँच दशक अघी निर्माण भएको उक्त पुलले रामेछाप र सिन्धुली जिल्लाका नागरिकलाई सुनकोशी नदी वारपार गर्नका लागि सहज बनाउदै आएको थियो ।

असोजको बाढीले पुलको झण्डै ३० मिटर भाग कामै नलाग्ने गरी क्षतिग्रस्त बनाएको थियो । पुलमा विच्छ्याइएका स्टिल डेकहरु बगेका थिए भने सुरक्षाका लागि लगाइएका संरचना क्षतिग्रस्त थिए । पुल वगेपछि स्थानीयहरु झुण्डिएर कष्टकर यात्रा गर्न बाध्य थिए ।

पुललाई मर्मत गरी साविकको अवस्थामा ल्याउनका लागि शहरी मन्त्रालयको पूर्वाधार विकास विभागले लागत अनुमान तयार पारेको थियो । तर अर्थ मन्त्रालयले आवश्यक पर्ने बजेट नदिदाँ स्थायी मर्मत हुन सकेको थिएन । असाेजकाे बाढीले रामेछापकाे बेलघारी देखि नबलपुर सम्मका अधिकांश स्थानमा क्षति पुर्याएकाे थियाे । खुर्काेट र सित्खाकाे झोलुङ्गे पुल भने बाढीले बगाएको थियाे । 

हिउँदभर कष्ट बोहोरेका नागरिकलाई बर्षायाममा सहज आवागमन गराउनका लागि रामेछापको खाँडादेवि गाउँपालिकाले उक्त पुल अस्थायी रुपमा मर्मतका लागि पहल गरेको थियो । बगाएका डेक खोजविन गरेर पुलमा विच्छ्याइएको र नपुग भएको स्थानमा बाँस राखेर पुलमा हिड्न सहज बनाइएको प्राविधिक हरिचन्द्र बरालले वताए । ‘अव पुलमा हिड्न पहिलेको जस्तो जोखिम छैन्, झुण्डिनु पर्दैन, आरामले वारपार हुन सकिन्छ’ बरालले भने ।

झण्डै तीन दशक अघी सम्म पूर्वि पहाडि जिल्ला र रामेछापबाट काठमाडौं जाउ आउ गर्नका लागि उक्त नाकाको पुल प्रमुख मानिथ्यो । सडक खुलेपछि झोलुङ्गे पुलमा यात्रा गर्ने घटेका थिए । तर रामेछापको खाँडादेवि ४ पुछिघाट तर्फका बासिन्दा काठमाडौं जाउआउ, चैनपुर र खाल्टेको विद्यालयमा अध्ययनका लागि जान, सिन्धुली तर्फको खेतबारीमा जान र बजार तथा उपचारका लागि जान उक्त पुल अपरिहार्य रहदै आएको थियो । पुल क्षतिग्रस्त भएपछि केहि समय खाँडादेवि गाउँपालिकाको विपत व्यवस्थापन समितिले दिएको राफ्टिङले पनि सर्वसाधारणलाई सुनकोशी वारपार गराएको थियो ।