रामेछाप । शुक्रबार परेको अविरल बर्षा पछि रणजोर खोलामा आएको बाढीले मन्थली १ को बरदेउथान खेत कटान गरेको छ । बाढीले दर्जनौ किसानको खेत बगाएकोे हो ।
बाढीले गत बर्ष पनि उक्त स्थानमा रहेको खेत बगाएको थियो । खोलाले बगर बनाएको खेतलाई किसानले लाखौं खर्च गरेर पुन खेतियोग्य बनाएका थिए । असोजको बाढीले पाकेको धान गुमाएका किसानले यो पटक पाकेको मकै गुमाएका छन् । बाढीले मकै र धानको ब्याड बगाएको छ ।
साविकमा लगाएको तारबार लाई भत्काएर असोजमा बाढी पसेको स्थानमा किसानहरुले आफैले पैसा उठाएर केहि थान तारजाली लगाएका थिए । तर त्यसले रणजोरको बाढी थेगेन । खोला पस्दा बालीसहितको खेत मात्र नभै मन्थली घाटको पुल समेत जोखिममा परेको छ । गत बर्ष पनि पुलको पूर्वि जग नजिकका घरहरुमा रणजोरको बाढी पसेको थियो । उक्त वस्ती जोखिममा परेको छ ।
शुक्रबारको बाढीले रणजोर किनारका अन्य खेतहरुमा समेत कटान गरेको स्थानीय किसानहरुले जनाएका छन् ।
