सुर्खेत — चीनमा गरीएको परिक्षणले नेपालको दैलेख जिल्लाको भैरवि गाउँपालिका १ जलजले क्षेत्रमा १ अर्ब १२ करोड घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक प्रतिवेदन आएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार चाइना जिओलोजिकल सर्भेले ४ हजार मिटर गहिराई सम्म खोपेर भौगर्भिक अध्ययन गरेको थियो । अध्ययनको क्रममा फेला पारेका तथ्याङ्कहरुलाई प्राविधिक परिक्षणका लागि चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीमा पठाईएको थियो । ड्रिलिङका आधारमा प्राप्त प्रारम्भिक प्रतिवेदनले ठूलो परिणाममा मिथेन ग्याँस भएको पत्ता लागेको हो ।
कम्पनीको अन्तिम प्रतिवेदन भने आउदो डिसेम्बरसम्म आउने विभागले जनाएको छ । चिनियाँ विज्ञ टोलीले गरेको अध्ययन अनुसार नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्याँस जलजलेमा रहेको पत्ता लागेको हो । अब परीक्षण उत्पादन गरेर त्यसको यकीन गर्ने भन्दै विभागले आवश्यक प्रक्रिया अघि बढाएको छ ।
चीनका प्राविधिकहरुले २०८० वैशाख २८ गतेदेखि झण्डै डेढ वर्ष ड्रिलिङ गरेर त्यसको अध्ययन गरेको थियो । ‘हामीले ४ हजार १३ मिटरसम्म ड्रिलिङ गरेका थियौ,’ विभागका उपमहानिर्देशक दिनेशकुमार नापितले भने, ‘जसको १/१ मिटरको स्याम्पल परीक्षणका लागि पठाएका थियौ ।
चिनियाँ टोलीले ग्यासको मात्रा र गुणस्तर लगायतका थप परीक्षणका लागि चट्टानका नमुना संकलन गरी चीन लगेको थियो । ‘पेट्रोलियम पदार्थको अनुमान गरेर अन्वेशणको काम थालिएको हो अहिले ग्यास धेरै रहेको पाइयो,’ उपमहानिर्देशक नापितले भने, ‘प्रारम्भिक प्रतिवेदनले सकारात्मक सन्देश दिएको छ ।
