रामेछाप । तामाकोशी नदीमा पानीको मात्रा बढ्न थालेपछि दोलखा र रामेछाप जोड्ने पुष्पलाल मार्गको किर्ने सडक खण्ड उच्च जोखिममा परेको छ ।

मनसुन शुरु भएको पहिलो साता तामाकोशी नदी केहि मात्रामा बढेको हो । नदीमा पानीको मात्रा अहिलेको भन्दा दोब्बर भन्दा बढी हुन बाँकीनै छ । मध्य बर्षायाममा हुने नदीको आधा पनि हुन नपाउदै किर्नेमा हालै अस्थायी रुपमा पुननिर्माण गरि संचालनमा ल्याएको सडक जोखिममा परेको हो । नदीले सडक उकासका लागि थुपारिएको रोडाढुंगा झार्न थालेको छ । मुस्किलले एकतर्फि सडक बाँकी रहेको र नदी बढ्नासाथै उक्त सडक झार्ने जोखिम बढेको स्थानीयले वताएका छन् । सडक सुरक्षाका लागि अव कुनै पूर्वाधार निर्माण गर्ने अवस्था समेत छैन् । 

गत असोजको १२ गते आएको बाढीले खिम्ती जलविद्युत आयोजनाको परिसरमा रहेको पक्की सडक खण्ड बगाएको थियो । दोलखा र रामेछाप जोड्ने सो सडक अवरुद्ध भएको केहि दिनमा खिम्ती जलविद्युत आयोजनाले आफ्नो कम्पाउण्डबाट अस्थायी सडक बनाई संचालन गर्न दिएकाले यातायात खुलाइएको थियो । जतिवेला विपी राजमार्ग पुरै ठप्प थियो । रामेछापेलीलाई राजधानी ओहोरदोहोर गर्न र दोलखालीहरुलाई तराईको मालसामान ल्याउन उक्त अस्थायी सडकले सहयोग गरेको थियो ।

बाढीले क्षतिग्रस्त पारेको सडक भएकै स्थानमा सडक डिभिजन खाल्टे सिन्धुलीले नदीबाट गेगर निकालेर किनारालाई उकास गरी अस्थायी सडक बनाएको हो । झण्डै डेढ महिना अघी मात्र संचालनमा आएको उक्त सडक जोगाउनका लागि टेवापर्खाल, ग्याबियन लगाएतका कुनै पनि पूर्वाधार निर्माण गरिएका थिएनन् । खाली नदीको ढुंगा र गेगर थुपारेर बनाइएको सडक नदी बढ्ना साथै जोखिममा परेको हो ।

उता रामेछापको लाईफलाईनको रुपमा रहेको बिपी राजमार्गमा पनि सडक विभागले त्यसैगरी अस्थायी रुपमा गेगर थुपारेर सडक पुननिर्माण गरी संचालनमा ल्याएको छ । रोशीको सामान्य बाढीले पटक पटक अवरुद्ध गरेको उक्त सडक बर्षायाममा टिक्ने संभावना नभएको भन्दै यात्रुहरु त्रासमै यात्रा गर्न बाध्य छन् । रोशीमा बाढी बढ्ना साथै उक्त सडक भएर यात्रा गर्नेहरुलाई सुरक्षित हुने नहुने कुरामा अन्यौल मान्दै जोखिमपूर्ण यात्रा गर्न विवस छन् ।