रामेछाप । लगातार तीन साता लामो खडेरीका कारण मन्थलीमा प्रचण्ड गर्मी बढेको छ । स्थानीयहरु गर्मी छल्नका लागि मन्थलीबाट माथिल्ला टाकुराहरुमा निस्कन थालेका छन् ।

गर्मीका कारण पानीको खपत अत्याधिक बढेको छ । मन्थलीका २ वटा स्वीमिङ पुल र तामाकोशीमा पौडीखेल्नेहरु पनि बढ्न थालेका छन् । अघीपछि स्वीमिङ पुल प्राय खाली हुने गरेको थियो । दिउँसो गर्मीका कारण सडकमा सर्वसाधारण निस्कन छोडेका छन् भने व्यवसाय क्षेत्रमा किनबेचमा पनि मन्दि आएको छ । शनिबार मध्यान्ह मन्थलीको तापक्रम करिव ३८ डिग्री पुगेको थियो ।

यसैविच खडेरीका कारण पाखोबारीमा लगाएका मकै मर्न थालेका छन् । केहि साता अघी लगाएका मकैहरु पात बटारिएर मर्दै गएको स्थानीय किसानहरुले जनाएका छन् । बाँचेका मकैमा पनि फौजि किराको प्रकोपले किसानलाई थप पिरोलेको छ ।

जिल्लाको उच्च पहाडि क्षेत्रमा भने पानी बढ्ता हुन थालेको छ । दिनैको झरीले विकास निर्माणको काममा समेत प्रभाव परेको छ । आर्थिक बर्षको अन्त्य भएकाले आजभोली जताततै विकास निर्माणको कामको चटारो छ ।