रामेछाप । रामेछापको मन्थली नगरपालिकाका सबै १४ वटा वडालाई बुधबार बालमैत्री स्थानीय सुशासनयुक्त वडा घोषणा गरिएको छ ।

मन्थली नगरपालिकाले केहि बर्ष देखि नगरपालिकालाई बालमैत्री सुशासनयुक्त नगर घोषणा गर्न विभिन्न ५१ वटा सुचकहरुलाई आधार बनाएर काम गर्दै आएको थियो । उक्त सूचकहरुको आधारमा सम्वन्धित पक्षले अनुगमन गरेपछि वडाहरुलाई बालमैत्री स्थानीय सुशासनयुक्त वडा घोषणा गरिएको हो ।

बुधबार नगरपालिका १४ वटै वडामा विविध कार्यक्रम गरीएको छ । जिल्ला सदरमुकाम रहेको १ नम्बर वडामा आयोजित कार्यक्रममा संघीय सांसद पूर्णवहादुर तामाङ ( कान्छाराम ) को प्रमुख आतिथ्यतामा र्याली तथा सफा गरीएको थियो । वडा अध्यक्ष होमप्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडालाई बालमैत्री स्थानीय शासनयुक्त बनाउन योगदान गर्ने देवकोटाचोक टोल सुधार समितिका अध्यक्ष सुरेश उदास सहितलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा बालमैत्री स्थानीय सुशासनयुक्त घोषणाको बारेमा विभिन्न वक्ताहरुले आफ्ना धारणा राखेका थिए । हिजो मात्र रामेछाप नगरपालिकाका ९ वटा वडालाई बालमैत्री स्थानिय सुशासनयुक्त वडा घोषणा गरिएको थियो ।