रामेछाप । गत असोजमा सुनकोशीमा आएको बाढीले क्षतिग्रस्त पारेको रामेछाप र सिन्धुली जोड्ने पुछिघाटको पुल अस्थायी मर्मत गर्न थालिएको छ ।
पुल मर्मतमा सम्लग्न प्राविधिक हरिचन्द्र बरालका अनुसार अहिले अस्थायी रुपमा मर्मत थालिएको हो । बाँस राखेर मानिस सहज आवत जावत गर्ने गरी पुलको मर्मत गर्ने योजना छ ।
खाँडादेवि गाउँपालिकाको अग्रसरतामा पुल मर्मत थालिएको हो । पुलको विस्तृत मर्मत भने संघीय सरकारको पूर्वाधार विकास विभागले गर्नेछ । विभागमा पुल मर्मतका लागि लागत अनुमान तयार गरी पठाइसकिएको भएपनि चालु आर्थिक बर्षमा सरकारले आवश्यक बजेट निकाशा नदिदा उक्त कार्य हुन सकेको थिएन ।
रामेछापको खाँडादेवि ४ मा पर्ने पुछिघाटका बालबालिकाहरु माध्यमिक तहको विद्यालय अध्ययन गर्न सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकामा जानुपर्ने बाध्यता छ । त्यसबाहेक काठमाडौं जाउआउ र वजार समेत सिन्धुलीमा निर्भर गर्नुपर्ने भएकाले स्थानीयहरु असोज यता क्षतिग्रस्त पुलमा झुण्डिएर यात्रा गर्न बाध्य थिए । गाउँपालिकाको विपत व्यवस्थापन समितिले सुनकोशीमा राफ्टिङ व्यवस्था गरेपछि तार्ने व्यक्ति हमेसा नपाउदा अधिकांश बटुवा पुलको लठ्ठामा झुण्डिएर वारिपारी गर्न विवस थिए । बरालका अनुसार अवको केहि दिनमा पुलमा सहज आवागमन हुन सक्नेछ ।
बाढीले क्षतिग्रस्त बनाएको खाँडादेवि १ को बेलघारी र सुनकोशी गाउँपालिकाको पुरानो झाँगाझोली जोड्ने सुनकोशीको पुलमा पनि बाँस राखेर मर्मत गरिएको छ ।
