रामेछाप । मन्थली देखि सालु जाने सडकमा पर्ने रणजोर खोलामा निर्माणाधिन पक्कि पुल यसबर्ष पनि अधुरै रहने भएको छ । सरकारले आवश्यक बजेट नदिदा पुलको निर्माण कार्य अधुरो रहने भएको हो ।
रणजोर खोलाको पुल २ बर्षमा सक्ने गरी २०७७ जेठ १ मा संझौता भएको थियो । तर ५ बर्ष वितिसक्दा पनि पुल अधुरै छ । पहिले निर्माण व्यवसायीले विभिन्न कारण देखाउदै काममा चासो दिएनन् । त्यतिबेला सरकारले पैसा प्रयाप्त विनीयोजन गरेको थियो । अहिले पैसा थोर विनियोजन गरेको थियो तर निर्माण व्यवसायीले धेरै काम गरे । ठेक्का लगाउने निकायले भुक्तानी दिन सकेको छैन् ।
पुल निर्माणका लागि दिवा / भुवनेश्वरी जेभि संग कुल ९ करोड ६४ लख ५ हजारु ३ सय ८४ मा संझौता भएको थियो । पुलको डिजाईन परिवर्तन गर्नु परेका कारण कामको परिमाण थप हुदाँ र मूल्य समायोजनका कारण लागत बढ्न गएर पुलको लागत झण्डै ११ करोड ९२ लाख पुगेको छ । निर्माण कार्य वापत हाल सम्म ९ करोड ५६ लाख ९ हजार ३ सय १५ रुपैयाँ भुक्तानी दिनु पर्ने गरि प्राविधिक मूल्याकन भएको छ । त्यसमध्ये ५३ लाख रुपैयाँ भुक्तानी गर्नै बाँकी छ ।
पूर्वाधार विकास कार्यालय रामेछापका ईन्जिनियर दोर्णवहादुर चौधरीका अनुसार पुल निर्माणका लागि २०८१ साल माघ ३० गते सम्म म्याद रहेको थियो । उक्त म्याद समाप्त भएको तर निर्माण कार्य बाँकी हुनुका साथै भुक्तानीका लागि रकम नभएकोले फेरी म्याद थप गर्ने प्रकृया शुरु भएको छ । पैसा प्रयाप्त भयो भने आउदो असार सम्म म्याद थपेर त्यसबेला सम्म काम सक्ने योजना कार्यालयको छ । तर माथिल्लो निकायले पैसा दिने भरोसा भने नभएको उनले वताए । ‘हामीले बारम्बार पत्राचार गरेका छौं तर पैसा आएन’ चौधरीले भने । पुल निर्माण संघीय सरकारको सशर्त अनुदानबाट हुदै आएको छ ।
कुल १ सय २० मिटर लामो उक्त पुल दुई तर्फि यातायात संचालन हुने गरि बनाइएको छ । पुलको स्याव ढलान सकिएको भएपनि पुलमा पुग्ने पहुँच मार्ग निर्माण गर्न बाँकी रहेको छ । खराखरी गर्दा अवको दुई महिनामा पुलको काम सकिने स्थानीयको अनुमान छ ।
