रामेछाप । उर्जा जलश्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आईतबार राष्ट्रिय गौरबको सुनकोशी मरीण बहुउद्धेश्यीय आयोजनाको अनुगमन गरेका छन् ।
मन्त्री खड्काले रामेछाप र सिन्धुली जिल्लाको सिमा भएर बग्ने सुनकोशी नदीको सिल्लीबजार क्षेत्रमा निर्माणाधिन आयोजनाको बाँधको अवलोकन गरी निर्माणको अवस्थाका बारेमा जानकारी लिए । उनले राज्यको ठुलो महत्वको उक्त आयोजना निर्धारित समयमानै सम्पन्न गर्न निर्माण कार्यलाई अझ तिव्रता दिनुपर्ने बताए । मन्त्री खड्काले विद्युत र सिंचाई दुवैका लागि सुनकोशी मरिण उद्धेश्यिय आयोजना नेपालकै नमुना आयोजनाको रुपमा रहेकोले कुनै पनि कमजोरी हुन नदिई निर्माण कार्यमा गुणस्तरता कायम गर्न समेत निर्देशन दिए ।
आईतबार विहान रामेछापको मन्थली नगरपालिका ६ सिल्लीबजार क्षेत्रमा निर्माणाधिन बाँध अवलोकन गर्ने क्रममा आयोजनाका प्राविधिक अधिकारीहरुले आयोजनाको निर्माणको अवस्था र भावि दिनमा संचालन गर्ने क्रियाकलापका बारेमा मन्त्री खड्कालाई जानकारी गराएका थिए ।
मन्त्री खड्कालले आईतबारनै आयोजनाको आयोजनाको सुरुङ र आयोजनाका अन्य महत्वपूर्ण संरचनाका साथै मरिणखोला नियन्त्रण कार्यको समेत अनुगमन गरेका थिए ।
यसैबिच आईतबारनै नेपाली काँग्रेस सिन्धुलीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री खड्काले संविधानको रक्षा र कार्यान्वयनका लागि सरकार गम्भिर भएर लागेको वताए । उनले मुलुकमा अस्थिरता निम्त्याएर व्यवस्थानै परिवर्तन गर्न सकिन्छ कि भन्ने तत्व सल्बलाउन लागेको भन्दै त्यस्ता तत्वलाई नियन्त्रण गरी गणतान्त्रिक संविधानको रक्षा गर्न सरकार सक्षम रहेको वताए ।
त्यसैगरी प्रेस युनियन सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा समेत मन्त्री खड्काले संवोधन गरेका थिए ।
